Wednesday, November 25, 2015

आतंक सरदार आईएसआईएस


सुजित मैनाली  


सिरिया र इराकका केही भूभागलाई केन्द्र बनाएर पश्चिम एसियादेखि उत्तर अफ्रिकासम्मका मुसलमान बहुल राष्ट्रमा क्रियाशील आतंकवादी संगठन आईएसआईएस अहिले संसारभरिका सञ्चारमाध्यमको हेडलाइन बनिरहेको छ। पछिल्लो समय फ्रान्सको राजधानी पेरिसमा १ सय ३० जनाको मृत्यु हुने गरी आईएसआईएसका लडाकुले आक्रमण गरेपछि यो संगठनबारे विभिन्न कोणमा चर्चा हुने क्रम पुनः बढेको छ।



के हो आईएसआईएस?
सन् १९९९ मा स्थापना भएको यो संगठनले सन् २००८ मा आतंकवादी संगठन अल–कायदाप्रति आफ्नो बफादारी व्यक्त गर्दै अल–कायदाको छातामुनि रहेर पश्चिमी जगतसँग द्वन्द्व गर्न सुरु गरेको थियो। यद्यपि, त्यतिबेलासम्म यो संगठनको नाम अर्कै थियो। सन् २००३ मा अमेरिकाले पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोसँग मिलेर इराकलाई जैविक हतियारमुक्त राष्ट्र बनाउने भन्दै हमला गरेपछि यो संगठनले अल–कायदामातहत रहेर पश्चिमी देशका फौजसँग गुरिल्ला युद्ध गर्‍यो। त्यस क्रममा उसले आफ्नो प्रभाव र क्षमता विस्तार गर्दै गयो। आफूजस्तै इराकमा अल–कायदामातहत रहेर युद्धरत सुन्नी चरमपन्थीहरूका अन्य संगठनसँग एकता गरी यसले आफ्नो नयाँ नाम आईएसआई राख्यो।
अमेरिकामा बाराक ओबामा राष्ट्रपति बनेपछि पश्चिमी राष्ट्रले इराकबाट आफ्ना फौज फिर्ता गर्न सुरु गरे।  त्यत्तिकैमा सन् २०११ मा ट्युनिसियाबाट अरब जगत्मा फैलिएको प्रजातन्त्रको मागसहितको …चमेली क्रान्ति'ले सिरियामा शासक बसर अल असदविरोधी जनउभार सिर्जना गर्‍यो। इराकबाट पश्चिमी सेना फिर्ता भएको र छिमेकी मुलुक सिरियामा असदविरोधी आन्दोलनले हिंस्रक रूप लिँदै गएको अवस्थामा आईएसआईले इराक र सिरिया दुवैमा पकड जमाउँदै गयो र आफ्नो नाम बदलेर आईएसआईएस बनायो।
इराकबाट अमेरिकी सैनिक फिर्ता भएपछिका दिनमा आईएसआईएस संसारकै शक्तिशाली आतंकवादी संगठनमा दरिसकेको छ। हिजोको माउ संगठन अद–कायदालाई मध्यपूर्वमा छिन्नभिन्न बनाइदिएको उसले अहिले अल–कायदालाई उल्टै आफूप्रति बफादारी अर्पण गर्न, अन्यथा मार खेप्न चेतावनी दिन थालेको छ।

कसरी पछि पार्‍यो अल–कायदालाई?
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा करिब तीन हजारको ज्यान जाने गरी र छ हजारभन्दा बढीलाई घाइते बनाउने गरी कुनै पनि आतंकवादी संगठनले अहिलेसम्म गर्न नसकेको विशाल आक्रमण गरेर अल–कायदाले आतंकवादको नेतृत्व आफ्नो हातमा लियो। अल–कायदामातहत रहेर क्रियाशील आईएसआईएसले इराकमा आफ्नो प्रभाव बढाउँदै गएपछि अल–कायदासँग समन्वय नगरी उसले अन्य मुसलमान समुदायमाथि समेत आक्रमण तीव्र बनाउन थाल्यो। त्यसपछि अल–कायदाले सन् २०१४ को फेब्रुअरीमा आईएसआईएस आफ्नो भगिनी संगठन अबउप्रान्त नरहेको घोषणा गरिदियो। त्यसपछि इराक र सिरियामा रहेका अल–कायदाका लडाकुलाई आफूमा मिलाउने अथवा सफाया गरिदिने रणनीतिलाई तीव्र बनाएर आईएसआईएसले अल–कायदालाई इराक, सिरियालगायत समग्र मध्यपूर्व तथा उत्तर अफ्रिकामा सोत्तर बनाइदियो।
अल–कायदालाई आईएसआईएसले पाखा लगाउन कसरी सक्यो भन्नेबारे 'द गार्जियन'मा शिव मल्लिक, अली युनेस, स्पेन्सर अकरम्यान र मुस्तफा खालिलीले उल्लेख गरेका केही महत्वपूर्ण बुँदा यस्ता छन्– आईएसआईएसका लडाकुले एकपछि अर्को गर्दै युद्धमोर्चामा विजय हासिल गर्दै जानु, परम्परागत ढाँचामा चल्नखोज्ने अल–कायदाका नेताको सट्टा सूचना प्रविधिको विकाससँग अभ्यस्त पुस्तालाई आईएसआईएसले प्राथमिकताका साथ परिचालन गर्नु, घाँटी रेटेको लगायत बर्बर तस्बिर तथा भिडियो सार्वजनिक गरेर आतंकवादको दुनियाँमा आफूलाई अग्रणी देखाउन आईएसआईएस ससफल हुनु, अल–कायदाका प्रमुख नेता ओशामा बिन लादेनको मृत्युपछि अल–कायदा दरिलो नेतृत्वविहीन भएको सन्दर्भमा जिहादीहरूले आईएसआईएसका प्रमुख अबु बाकर अल–बग्दादीलाई चामत्कारिक नेतृत्व ठान्नु र उनकै पछि लाग्नु, आईएसआईएसले जसरी अल–कायदाले आक्रामक योजना ल्याउन नसक्नु र संगठनको सुस्त चाल देखेर यसका कार्यकर्ताहरू आईएसआईएसप्रति आकर्षित हुनु, आदि। यसबाहेक अल–कायदा र आईएसआईएसको मूल दर्शनमै भिन्नता भएको र यसले समेत अल–कायदामाथि आईएसआईएसलाई हाबी बनाइदिएको विश्लेषणसमेत गर्ने गरिएको छ।

नीति र कार्यशैली  
'दी एट्लान्टिक'मा ग्रेमे वुडले पश्चिमी जगत्ले आईएसआईएसलाई अल–कायदाजस्तै अर्को आतंकवादी संगठन भनी सामान्यीकृत गरेको कारणले गर्दा आईएसआईएसको प्रभावलाई रोक्ने काम प्रभावकारी रूपमा अघि बढाउन नसकिएको उल्लेख गरेका छन्। पश्चिमी जगत्विरुद्ध विषवमन गर्ने सवालमा दुवै संगठनबीच मतैक्य रहे पनि युद्ध गर्ने शैलीदेखि कुरानको समयसापेक्ष व्याख्या गर्ने सवालमा यी दुई संगठनबीच चरम मतभेद रहेको उनले लेखेका छन्।
आईएसआईएसको गतिविधि परम्परागत ढाँचाको छैन। आजसम्म कुनै आतंकवादी संगठनले अभ्यास नगरेको अर्थात् भौगोलिक क्षेत्रमा कुनै राज्यले जस्तै गरी प्रशासन सञ्चालन गरेर त्यही भूगोललाई केन्द्र बनाई युद्ध गर्ने नौलो शैली आईएसआईएसले अनुसरण गरिरहेको छ। जब कि,  अल–कायदाले अहिले भौतिक रूपमा कुनै भूगोलमाथि कब्जा जमाई त्यसैलाई आधार बनाएर शत्रुपक्षमाथि परम्पागत शैलीको आमनेसामने युद्ध गर्ने हैसियतमा जिहादीहरू नपुगेको भन्दै गुरिल्ला युद्धशैलीलाई अवलम्बन गर्दै आएको थियो।
आक्रमणको तारो कसलाई बनाउने भन्नेमा पनि  अल–कायदा र आईएसआईएसबीच मतैक्क छैन। अल–कायदाले पश्चिमी राष्ट्र, पश्चिमी सभ्यता र यहुदीवादलाई मुख्य शत्रु बनाएको थियो। मुसलमान जगत्मा पश्चिमी जगत् र यहुदीवादले संयुक्त रूपमा धावा बोल्ने गरेको भन्दै अल–कायदाले अमेरिका र इजरायलले मुसलमान जगत्लाई 'आतंकित' बनाउने आँट आइन्दा नगरून् भनेर उनीहरूलाई जहाँ सकिन्छ, त्यहीँ क्षति पुर्‍याउन फतवा जारी गर्ने गरेको थियो।
पश्चिमी जगत् र यहुदीवादसँग मुख्य दुश्मनी भए पनि आईएसआईएसले उनीहरूसँग लड्नुपूर्व निश्चित भौगोलिक क्षेत्रमा सरिया कानुन लागू गरेर सरिया कानुनअनुसार प्रशासन चलाई त्यसलाई धार्मिक राज्य (क्यालिफेट, अरबीमा खलिफा ) बनाउने र त्यसैलाई आधार बनाएर शत्रुपक्षसँग निर्णायक युद्ध लड्नुपर्ने मान्यता राख्छ। यसका लागि आक्रमणको पहिलो तारो पश्चिमी जगत्लाई नभई सरिया कानुन लागू नगर्ने मुसलमान जगत्का 'पतित र भ्रष्ट' शासकलाई बनाउनुपर्छ भन्ने यसको मान्यता छ। अरब जगत्का राष्ट्रलाई युद्धमा परास्त गरी सोही भूगोलमा खलिफा घोषणा गर्ने र युद्धलाई अझ बृहत्तर बनाउँदै लैजाने मान्यतामा आईएसआईएसको योजना आधारित छ। सिरिया र इराकका कतिपय भूगोलमाथि भौतिक रूपमै कब्जा जमाएर आईएसआईएसले खलिफा निर्माण भएको घोषणा गरिसकेको छ र यसलाई अझ विस्तार गर्दै जाने नीति लिएको छ।

अमेरिकी सहयोग
तत्कालीन सोभियत संघले अफगानिस्तानमाथि सन् १९७९ मा हमला गरेपछि सोभियत संघलाई पराजित गर्न र भियतनाममा आफू पराजित भएजस्तै अफगानिस्तानमा सोभियत संघलाई पराजित गर्न अमेरिकाले मुसलमान मुजाहिद्दीनहरूलाई हातहतियार, गुप्तचरी सूचना, आर्थिक तथा लजिस्टिक सहयोग आदि उपलब्ध गराएको थियो। यसरी अमेरिकी सहयोग पाउने मुजाहिद्दीनले पछि अल–कायदा स्थापना गरे र सोभियत संघको पतनपछि अमेरिकालाई मुख्य शत्रु किटान गरेर उसमाथि आक्रमण केन्द्रित गरे।
अल–कायदालाई सहयोग गरेको अमेरिकाले आईएसआईएसलाई समेत सघाएको आरोप लाग्ने गरेको छ। क्रिस्टिन गिल्लीब्रान्डलगायत अमेरिकी सिनेटरले अमेरिकाले आईएसआईएसलाई हतियारलगायत सहयोग उपल्रब्ध गराएको बताउने गरेका छन्। त्यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत सिरियाली राष्ट्रपति बसर अल असदसँग लड्ने लडाकुलाई अमेरिकाले हतियार उपलब्ध गराएको र यसरी उपलब्ध गराएका अधिकांश हतियार आईएसआईएसको हातमा पुगेको बताएर घुमाउरो भाषामा अमेरिकाका कारण सिरिया र इराकमा आईएसआईएसको क्षमता अभिवृद्धि भएको उल्लेख गरेका छन्।
सन् २०११ मा मध्यपूर्वभरि जनउभार उत्पन्न भएपछि सिरियाली शासक बसर अल असदको तानाशाही अन्त्य गर्ने आकांक्षा सिरियाली जनताले व्यक्त गरे। सिरियामा ठाउँठाउँमा असदविरुद्ध विशाल प्रदर्शन हुन थाले। सिया मुसलमान समुदायका राष्ट्रपति असदले इजरायलसँग जोडिएको छिमेकी मुलुक लेबनानमा सक्रिय सिया मुसलमानहरूको सैन्य दस्ता हिजबुल्लाहसम्म सिया मुसलमानबहुल अर्को छिमेकी मुलुक इरानको सैन्यलगायत सहयोग पुर्‍याउन सेतुको रूपमा काम गर्दै आएको आरोप अमेरिका र इजरायलले लगाउने गरेका थिए। यस्तोमा सिरियामा असदविरोधी आन्दोलन उठेपछि असदको ठाउँमा आफूअनुकूल शासकलाई ल्याएर इरान र लेबनानका हिजबुल्लाहबीचको सेतुलाई ध्वस्त गर्न सकिने सम्भावनालाई अमेरिका र इजरायलले नियाल्न थाले। तर, शान्तिपूर्ण जनउभारले असदको सत्ता डगमगाउने छाँटकाँट देखिएन। त्यसपछि अमेरिकाले आन्दोलनरत पक्षलाई हतियार उपलब्ध गराएर असदविरुद्ध क्रियाशील गराउन थाल्यो।
सिरियाको अल्पसंख्यक सिया मुसलमान समुदायविरुद्ध सिरियाको सबैभन्दा ठूलो सुन्नी समुदाय आन्दोलित थियो। त्यही भएर अमेरिकाले गरेको सैन्य सहयोग तिनै सुन्नी आन्दोलनकारीको हातमा गयो। आईएसआईएस सुन्नी मुसलमान समुदायको संगठन भएकाले यसरी बाँडिएका अमेरिकी हतियार अन्ततः आईएसआईएसको हातमा पर्‍यो र यसैको बलमा उसले मध्यपूर्वमा आतंकको राज चलाइरहेको छ।

सृष्टि अन्त्यसम्बन्धी मार्गदर्शक सिद्धान्त
मुसलमानहरूको पवित्र ग्रन्थमा सम्पूर्ण सृष्टि अन्त्य हुने खालको प्रलयकारी अवस्था आउने भविष्यवाणी गरिएको छ। सृष्टिको अन्त्य हुने बेला मध्यपूर्वमा सरिया कानुन पूर्ण रूपमा लागू भएको धार्मिक राज्य (खलिफा) स्थापना हुने, अधार्मिक राज्यहरूसँग यसको युद्ध हुने, युद्धमा खलिफा संहारछेउ पुगेपछि अल्लाहको सन्देशवाहकको जन्म हुने र उसले युद्धमा खलिफालाई विजयी गराई अधार्मिक समूहको समूल अन्त्य गरिदिने पवित्र ग्रन्थमा उल्लेख छ।
मुसलमानको धार्मिक ग्रन्थमा उल्लेख भएको सो प्रलयकारी अवधि आइसकेको भन्दै आईएसआईएसले यसको प्रमाणस्वरूप खलिफा घोषणा गरिदिएको छ। यसले संसारभरिका सुन्नी चरमपन्थी र धर्मभीरुलाई सिरिया पुगेर आईएसआईएसमा भर्ती हुन उत्साहित गरिरहेको छ।
'दी एट्लान्टिक'मा प्रकाशित ग्रेमे वुडको लेखमा प्रलयकारी समयमा हुने निर्णायक मुठभेडका लागि सिरियाको दाबिक क्षेत्रमा कब्जा जमाएको उल्लेख छ। 'रणनीतिक हिसाबले महत्वहीन यो क्षेत्रलाई आईएसआईएसले ठूलो मूल्य चुकाएर कब्जा गर्‍यो, किनकि रोमको सेना (अर्थात् अधर्मी सेना)ले दाबिक क्षेत्रमा क्याम्प स्थापना गर्ने, ती सेनाको मुसलमान सेनासँग त्यहीँ मुठभेड हुने र युद्धको छिनोफानो त्यही युद्ध मोर्चामा हुने मोहम्मदले बताएको धर्मग्रन्थमा उल्लेख छ,' लेखमा भनिएको छ।

आईएसआईएसको अर्थतन्त्र
तालिबान र अल–कायदाको अर्थतन्त्रको मुख्य आधार भनेको पश्चिमी जगत्मा रहेका मुसलमान समुदाय र अफगानिस्तानमा रहेको गाँजाखेती थियो। रेमिट्यान्सको कारोबार तथा लागुऔषध ओसारपोसारमा कडाइ गरेर तालिबान र अल–कायदाको अर्थतन्त्र धराशायी गरिदिने सुविधा अमेरिकालगायत पश्चिमी जगत्लाई प्राप्त थियो। तर, अनेक प्रयत्नका बीच पनि अमेरिकाले आईएसआईएसको अर्थतन्त्रलाई अवरुद्ध गर्न सकिरहेको छैन, किनकि उसको अर्थतन्त्र पनि मौलिक खालको छ।
सन् २०१४ मा आईएसआईएसले वार्षिक बजेट १ अर्ब २० करोड अमेरिकी डलर बराबर रहेको न्युयोर्क टाइम्सले जनाएको छ, जुन २०१५ मा बढेर दुई अर्ब डलर पुगेको थियो। प्रशासन सञ्चालन गरिरहेको क्षेत्रमा आईएसआईएसले कर संकलन गर्छ र यो उसको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार हो। कृषिउपज बढी उत्पादन हुने सिरिया र इराकको क्षेत्रमा आईएसआईएसले प्रशासन चलाइरहेकाले त्यस क्षेत्रका कृषिउपज उसको अर्थतन्त्रको अर्को मुख्य आधार हो। आईएसआईएसले आफ्नो राज्य भनी दाबी गरेको क्षेत्रमा ठूलठूला तेलखानी पनि छन् र तेल बेचेर समेत उसले ठूलो रकम संकलन गर्दै आएको छ। आईएसआईएसको अर्थतन्त्रलाई धराशायी बनाउन अमेरिकाले तेल उत्पादन केन्द्रमा हमला गर्ने गरे पनि यसलाई पूर्ण विनाश गर्न सकेको छैन। जसकारण तेल कारोबार जारी छ। र, यसले आईएसआईएसलाई आफ्ना आतंकवादी गतिविधिलाई 'फन्डिङ' गर्न मद्दत पुर्‍याइरहेको छ।

Courtesy: Shukrabaar Weekly, Kathmandu