Monday, February 16, 2015

किन गाँजा खान्छन् नागा बाबा?


डा. जगमान गुरुङ, संस्कृतिविद्

के हो महाशिवरात्रि ?
शिवरात्रि वर्षमा १२ पटक आउँछ । महाशिवरात्रिचाहिँ एकपटक मात्र आउँछ । प्रत्येक महिनाको कृष्णापक्षको चतुर्दशीको मध्यरातलाई शिवरात्रि भनिन्छ । महाशिवरात्रिचाहिँ फागुन कृष्णपक्षको मध्यराति पर्छ । करिब तीन सय वर्षअघि माघ कृष्णपक्षको मध्यरातलाई महाशिवरात्रिका रूपमा मनाइन्थ्यो ।
महाशिवरात्रि मनाउन कहिलेदेखि सुरु भयो र यसको अवसरमा नागा बाबा कहिलेदेखि भारतबाट आउन थाले भन्ने यकिन जानकारी कतै उपलब्ध छैन । पूर्वमध्यकालमा काशीको आमरदक पीठका शंकराचार्य दुईपटक नेपाल आएका थिए । शिवजस्तै उनी पनि तान्त्रिक थिए । साँढेमाथि सवार हुन्थे । नेपालमा उनले चेलाचपेटा पनि बनाएका थिए । यसको अर्थ त्यतिवेला पनि भारतबाट शैव मतका बाबा नेपाल आउने गर्थे भन्ने हो ।
मल्लकालका अन्तिम राजा जयप्रकाश मल्लका बुबा जगतजय मल्लका पालादेखि पशुपतिनाथको मन्दिरमा दक्षिण भारत, महाराष्ट्रका भट्ट ब्राह्मणलाई पुजारी बनाउने चलन सुरु भएको हो । यसको मतलब त्योभन्दा अगाडिदेखि नै शिवलाई आराध्यदेव मान्नेहरू पशुपति आउने गर्थे । त्योभन्दा अगाडि लिच्छवीकालमा धातुको माला लगाउने पाशुपताचार्य नेपालमा भएको उल्लेख छ । यस्ता पाशुपताचार्य भारतका पनि हुन्थे ।

बाबाहरू पशुपतिमा किन आउँछन् ?
भारत वर्षमा १२ प्रमुख शिवलिंग छन् । हिमालय शृंखलामा भएको एक मात्र शिवलिंग केदारनाथ हो । पशुपतिनाथलाई केदारनाथको शिर मानिन्छ । त्यही भएर शैव मत राख्नेमाझ पशुपतिनाथको गरिमा उच्च छ ।
महाशिवरात्रि खासगरी पशुपतिनाथको पर्व हो । हिमवत्खण्डमा पर्ने पशुपतिनाथको महिमा र महत्त्व शैव मतमा उच्च भएकाले महाशिवरात्रिमा शिवको सान्निध्यमा रहन भारतभरिबाट नागा बाबा आउने गर्छन् ।
कसरी आउँथे बाबाहरू ?
राणाशासन अन्त्य नभएसम्म नेपालका अन्य भूभागबाट काठमाडौं आउनेले पासपोर्ट बोक्नुपथ्र्यो । विदेशबाट आउनेले त अझ अनिवार्य रूपमा बोक्नैपथ्र्यो । तर, कपडासम्म त्यागेका दिगम्बर शिवका भक्त नागा बाबालाई भने यस्तो नियमबाट उन्मुक्ति दिइन्थ्यो ।
महाशिवरात्रिको छेको पारेर उनीहरूलाई काठमाडौं छिर्न दिइन्थ्यो । भिन्ना–भिन्नै सम्प्रदायका बाबाका लागि छुट्याइएको अखडामा उनीहरूलाई बस्न दिइन्थ्यो । यहाँ बसुन्जेल उनीहरूलाई चाहिनेजति दाउरा, खाना, पानी, खरानी आदिको बन्दोबस्त गरिन्थ्यो । राम्रोसँग सबैको मेजमानी गरिन्थ्यो । अहिलेजस्तै त्यतिवेला पनि सरकारले बाबाहरूलाई गाँजा, भाङ, चरेस दिने गथ्र्यो ।
महाशिवरात्रि सकिएपछि फर्किने वेलामा बाटो खर्च दिइन्थ्यो । कसै–कसैलाई बाघ र मिर्गका छालासम्म दिएर बिदाइ गरिन्थ्यो । बिदाइ गरेपछि पनि जान नखोज्नेलाई सिपाही लगाएर थानकोट कटाइन्थ्यो ।

गाँजा–भाङ किन खान्छन् ?
आम मानिसले बिहान उठेर जलस्नान लिने गर्छन् । नागा बाबाहरू भने उठ्नेबित्तिकै भष्मस्नान गर्छन् । टाउको र शरीरमा भष्म दल्छन् ।
जाडो छल्न उनीहरूले यसो गरेका हुन् । हाम्रो शरीरमा प्रत्येक रौँको फेदमा प्वाल हुन्छ । त्यही प्वालबाट सिरेटो भित्र छिरेपछि जाडो हुन्छ । शरीरमा खरानी दलेपछि यस्ता प्वाल टालिन्छन् र जाडो हुँदैन । बाबाहरू कहिल्यै नुहाउँदैनन् । यसले गर्दा टाउकोमा जुम्रा पर्ला भनेर उनीहरू टाउकोमा पनि भष्म दल्छन् । भष्म दलेको टाउकोमा जुम्रा पर्दैन ।
गाँजाले शरीरमा ताप उत्पन्न गराउँछ । रीत पुर्‍याएर खाँदा यसले पेट सफा गर्छ । पहिले–पहिले नाकबाट गाँजा खाएर मलद्वारबाट धुवाँ फाल्ने योगविधिको अभ्यास हुन्थ्यो रे । यसो गर्दा पेट पूरै सफा हुन्थ्यो । तर, यस्तो कठिन योगविधि अभ्यास भएको अहिले पाइँदैन ।
महाशिवरात्रिमा गाँजा खानुपर्छ भनेर कहीँ लेखिएको छैन । गाँजा खानुको र भष्मधारण गर्नुको तान्त्रिक पक्ष पनि केही छैन । फगत जाडो छल्नलाई यस्तो गरिएको हो ।
पहिले–पहिले हिमालयमा बाबाहरू नांगै बस्ने गर्थे । त्यागको अवस्थामा पुगेका यसरी बस्ने गर्थे । उनीहरू विशेष गरी वस्त्र र अन्नपानी त्याग्ने गर्थे ।
हिमालमा रुदन्ती भन्ने बुटी पाइन्छ । पानको पात आकारको यसको टुप्पोबाट शिशिर ऋतु (माघ–फागुन)मा पानी तपतप चुहिरहन्छ । सधैँ रोएजस्तो देखिने भएकाले यसलाई रुदन्ती भनिएको हो । रुदन्ती बुटीलाई गाँजासँग मिलाएर खाँदा मानिसलाई तीन महिनासम्म भोक लाग्दैन र यसले शरीरमा ताप सिर्जना गराएर जाडो छल्छ । त्यतिवेलाका बाबाले अन्न त्याग गर्न रुदन्ती बुटीलाई गाँजामा मिलाएर खाने गर्थे ।

शिवले आविष्कार गरेको थेरापी
भष्मबारे भन्नुपर्दा सुवर्ण भष्म, मुगा भष्म र मोती भष्मबारे समेत उल्लेख गर्नुपर्छ । सुनलाई भष्म गराउन सकिँदैन । तर, आयुर्वेदमा सुन बनाउने रासायनिक प्रक्रिया र यसलाई भष्म गराउने विधिबारे उल्लेख छ । रुकुममा पाइने  सिमतामा (तामाको प्रकार), रुदन्ती बुटी र ठोस बनाइएको पारो मिलाउने हो भने सुन बन्छ । सुनलाई भष्म गराएपछि यसलाई सुवर्ण भष्म भनिन्छ । यस्तो भष्म खाँदा भोक लाग्दैन । मोती पानीबाट बनेको हुन्छ । मोती भष्म खाँदा प्यास लाग्दैन । त्यस्तै मुगालाई भष्म बनाएर खाँदा यसले मांसपेशीलाई बलियो बनाउँछ । यो टनिक हो ।
भष्म र गाँजा सेवन गर्ने यो कुनै तान्त्रिक होइन । यो विशुद्ध आयुर्वेदमाथि आधारित छ । यो विधिलाई भगवान् शिवले आविष्कार गरेका हुन् । उनी कैलाश पर्वतजस्तो चिसो ठाउँमा बस्ने गर्थे । त्यस्तो जाडो ठाउँमा त्यागको अभ्यास गर्न तथा प्रकृतिलाई वशमा राख्न उनले आविष्कार गरेको यो थेरापीलाई नागा बाबाले अहिलेसम्म निरन्तरता दिइरहेका छन् ।

प्रस्तुति : सुजित मैनाली
तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

No comments: