Friday, September 19, 2014

मधेसीले विखण्डन चाहेका छैनन्


lalbabu yadap
Lalbabu Yadav, Political Scientist, Trihbuvan University
लालबाबु यादव, राजनीतिशास्त्री -

रौतहट स्थायी घर भएका लालबाबु यादव त्रिभुवन विश्वविद्यालयअन्तर्गतको राजनीतिशास्त्र विभागका सहप्राध्यापक हुन् । सुरक्षा, विदेशनीति र राज्य–पुनर्संरचनासम्बन्धी विषयमा अध्ययन–अनुसन्धान गर्दैै आएका उनले नयाँ पत्रिकासँगको कुराकानीमा मधेस राजनीतिको चिरफार यसरी गरेका छन् :

नेपाली राजनीतिमा मधेस ठूलो चासोको विषय बन्न पुगेको छ । वेला–वेलाका मधेसबाट विखण्डनको कुरा उठ्ने गरेकाले मधेसलाई सन्दिग्ध रूपमा हेर्ने पनि गरिन्छ । तर, मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने कुरा मधेसी समुदायले अहिलेसम्म गरेको छैन । केही व्यक्तिले मनोगत आकांक्षाबाट प्रेरित भएर यदाकदा यस्तो बताउने गरे पनि मधेसका जनताले विखण्डन चाहेका छैनन् ।
सिके राउतले मधेस टुक्रयाउने अभियान सुरु गरेपछि उनलाई पक्राउ गरिएको छ । मधेसलाई अलग राष्ट्र बनाउने उनको व्यक्तिगत आकांक्षा होला । समग्र मधेसी जनताको चाहना उनको आकांक्षामा प्रतिबिम्बित भएको छैन । यदि उनले जस्तै मधेसका मानिसले पनि नेपालबाट अलग हुने आकांक्षा राखेको भए उनी पक्राउ पर्नासाथ मधेसमा ठूलै उथलपुथल भइसक्ने थियो । तर, राउतले मधेस र मधेसीको सेन्टिमेन्टलाई बुझ्न सकेनन्, जसकारण उनी एक्लिन पुगेका छन् ।

०००

मधेसबारे टिप्पणी गर्नुअघि मधेस भनेको के हो र मधेसी को हुन् भन्नेमा प्रस्ट हुन जरुरी छ । अहिले चर्चामा रहेको मधेसको परिभाषासँग म सहमत छैन । सदीयौँदेखि मधेसमा बसेर त्यहाँको हावापानी र माटोसँग भिजेका पहाडका मानिसलाई पहाडे भनिँदै छ । नेपालको संविधानले पनि गलत ढंगले व्याख्या गरेर जनतामाझ फुट ल्याउने काम गरेको छ । मधेसमा बस्दै आएका सबै मानिस मधेसी हुन् ।
मधेसमै जन्मेहुर्केको र मधेसी समुदायबारे विभिन्न अध्ययन–अनुसन्धान गरेकाले मैले मधेसी मनोविज्ञानलाई गहिरोसँग बुझ्ने मौका पाएको छु । मधेसमा कहिलेकाहीँ क्षणिक उत्तेजना र भावुकता सिर्जना हुने नगरेको होइन । तर, सहिष्णुताको हाम्रो लामो परम्परा बिथोलिने स्केलमा तिक्तता उत्पन्न भएको छैन । नेपालको गौरवशाली इतिहास छ । यो विश्वकै १७औँ पुरानो देश हो । नेपाल अमेरिकाभन्दा आठ वर्ष जेठो हो, भारतभन्दा त धेरै गुणा जेठो हो । यदि लामो ऐतिहासिक प्रक्रियाले नेपाली भूगोलमा एकखालको साझा मनोविज्ञान विकसित गराएको छ । यो मनोविज्ञानले नेपालका सबै समुदायलाई एकअर्कासँग बाँधेको छ ।

०००

मैले आदर्शका कुरा गरिरहेको छैन । मिहिन अवलोकन, अध्ययन–अनुसन्धान र मधेसी जनतासँगको अन्तरक्रियाका आधारमा म यो सब भनिरहेको छु ।
दोस्रो जनआन्दोलनपछि मधेसमा चलेको आन्दोलनको लहरका कारण त्यहाँ एक किसिमको उत्तेजना छाएको थियो । संविधानसभाको पहिलो निर्वाचनपछि म एउटा कार्यक्रमलाई सम्बोधन गर्न जनकपुर पुगेको थिएँ । त्यहाँ मलाई मधेसी पार्टीका नेता–कार्यकर्ताले मैथिलीमा सम्बोधन गर्न भने । मैले मानिनँ । उनीहरूले कर गरे ।
मैले प्रस्टसँग भनेँ, ‘म मातृभाषामा बोल्छु, या त राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय भाषामा । मैथिली मेरो मातृभाषा होइन । मेरो मातृभाषा बजिका हो । बजिकामा बोलेँ भने तपाईंहरू कसैले बुझ्नुहुन्न । त्यही भएर म नेपालीमा बोल्छु ।’
मैले यसो भन्नासाथ ठूलै विरोध भयो ।
केही वर्षपछि म त्यही ठाउँमा फेरि गएँ, अर्कै कार्यक्रमलाई सम्बोधन गर्न । त्यतिवेला जनकपुर अर्कै भइसकेको रहेछ । मैले फेरि नेपालीमा सम्बोधन गर्ने मनसाय बनाएँ र सोधेँ, ‘म नेपालीमा आफ्नो कुरा राख्छु, हुन्छ ?’
सबैले भने, ‘राष्ट्रिय भाषामा कुरा राख्न पनि सोधिरहनुपर्छ ? मजासँग आफ्नो कुरा राख्नुहोस्, हामी सुन्छौँ ।’
मैले ४० मिनेट बोल्ने तय भए पनि करिब डेढ घन्टा बोलँेछु । पहिलो संविधानसभाताकाको उत्तेजना र पहाडविरोधी मानसिकता त्यसबखत थिएन । विभिन्न समयमा भारत भ्रमण गर्दा मैले ‘मेरा युपी महान्’, ‘मेरा बिहार महान्’ लेखिएको कतै नदेखेको भाषणका क्रममा बताएको थिएँ । मेरो कुरालाई धेरैले रुचाएका थिए । नेपाली अर्थतन्त्रले धान्न सक्दैन भने नेताहरूको मात्रै स्वार्थ पूरा गर्ने संघीयता किन चाहियो भन्ने कुरा पनि प्रबल रूपमा उठेको थियो ।

०००

म यादव हुँ । तर, म आफूलाई नेपाली यादव भनेर चिनाउने गर्छु । किनकि, यादव भारतमा पनि हुन्छन् । मुलायमसिंह र लालुप्रसाद पनि यादव नै हुन् । तेस्रो देशमा गएर मैले ‘म यादव हुँ’ भनेँ भने लालुप्रसाद र मुलायम सिंहभन्दा मेरो पहिचान फरक हुँदैन । मैले आफूलाई नेपाली यादव बताएँ भने मात्रै नेपाली माटो र मेरो आफ्नो समुदायसँग जोडिएको मेरो पहिचान खुल्छ ।
एकपटक काठमाडौंको एउटा कार्यक्रममा जातीयतासम्बन्धी चर्को बहस चलेको थियो । त्यसमा मैले पनि बोल्नुपर्ने थियो । बोल्ने पालो आएपछि मैले माक्र्स र ब्रुनोबीचको एउटा प्रसंग उठाएँ ।
माक्र्स र ब्रुनो दुवै जर्मनीका यहुदी थिए । माक्र्स आफूलाई जर्मन  मान्ने गर्थे । ब्रुनोचाहिँ आफूलाई यहुदी भनी चिनाउने गर्थे । ब्रुनोसँग एकदिन माक्र्सले भने, ‘तिमी आफूलाई यहुदी भन्छौ भने जर्मनीका मानिसले मलाई जर्मन मानेनन् भनेर किन मन दु:खाउँछौ ?’
जवाफमा ब्रुनोले भने, ‘म यहुदी जर्मन हुँ ।’
‘तिमीले जर्मन पहिचानलाई आफैं दोस्रो प्राथमिकतामा राखेका छौ । यस्तोमा जर्मनका मानिसले तिमीलाई दोस्रो दर्जाको नागरिक सम्झिँदा तिमीलाई केको टाउको दुखाइ ?’
माक्र्सको कुराबाट ब्रुनो कन्भिन्स भए र आफूलाई जर्मन यहुदी बताउन थाले । त्यस्तै म पनि आफूलाई नेपाली यादव भन्न रुचाउँछु । भाषणका क्रममा मैले यस्तो बताउँदा नेवार समुदायका एक कहलिएका नेता प्रभावित हुनुभएछ । उहाँले भन्नुभयो, ‘यादवजी, आजदेखि मैले आफूलाई नेपाली नेवार भनी चिनाउने भएँ । अब तपाईंले यस्ता कुरा गरेर ललितपुर, भक्तपुर र काठमाडौंका सबै नेवारलाई नेपाली बनाइदिनुपर्‍यो ।’

०००

भारतसँगको मधेसीको सम्बन्धलाई सधैँ सन्दिग्ध रूपमा हेर्ने गरिएको छ । नेपालमा उनीहरूलाई भारतीय भनिन्छ । जनगणना गर्दा मधेसका जनतालाई भारतीय मूलको भनिन्छ । तर, मधेसी जनतालाई आफूहरूलाई भारतसँग जोडेको मन पर्दैन । यदि उनीहरू भारतप्रति लोयल हुन्थे भने भारतीय भन्दा उनीहरूको चित्त किन दुख्थ्यो ?
भारतले उल्टो नेपालका समुदायमध्ये सबैभन्दा बढी दु:ख मधेसी समुदायलाई दिएको छ । सीमामा रहेका मधेसीहरूकै जमिन अतिक्रमणमा पर्ने गर्छ जहाँ भारतीय कृषकले रजाइँ गर्ने गर्छन् । अनाधिकृत रूपमा भारतले बाँधेका बाँधबाट डुबानमा पर्ने जमिन मधेसी कृषककै हुन्छ । भारतीय सीमाबाट आश्रय लिने सशस्त्र समूहले चन्दा असुल्ने पनि मधेसीहरूसँगै हो । त्यस्ता झुन्डले दुव्र्यवहार गर्ने भनेको मधेसका छोरीचेलीसँगै हो । पारिपट्टिबाट केही सामान किनेर ल्याउँदा अनेक बखेडा झिकेर सीमामा खटिने भारतीय सुरक्षाकर्मीले घुँडा फुस्किने गरी कुटेका अधिकांश नेपाली मधेसी छन् । भारतको यत्रो थिचोमिचो सहनुपरेका उनीहरू आशाको नजरले काठमाडौंलाई हेर्छन् ।

०००

मधेसी जनताले नेपालबाट अलग हुन खोजेका छैनन् । उनीहरूले पहिचान र स्वाभिमान खोजेका छन् । खासगरी काठमाडौंमा मधेसीले स्वामिभान गिरेको महसुस गर्ने गरेका छन् । मधेसको मनलाई काठमाडौंबाहेक नेपालका अन्य स्थानले कुँडाएको छैन । काठमाडौंको रैथाने समुदायले मधेसीलाई हेप्ने गर्छ । उनीहरूलाई मस्र्या, भैया, खाली सिसी भन्ने गर्छन् ।
मधेस आन्दोलनमा चर्कोसँग लागेका मेरा केही विद्यार्थी छन् । म उनीहरूलाई सोध्ने गर्छु, ‘तिमीहरूले किन साँघुरो सोच बनाएको ? संसार ग्लोबल बन्दै गएका वेला उल्टो बाटोमा किन लागेको ?’
यसरी मधेस आन्दोलनमा लागेर चर्का कुरा गर्नेहरू कुनै न कुनै समय काठमाडौं बसेमा हुन्छन् । र, काठमाडौं बस्दा उनीहरूले ठूलो अपमान भोगेका हुन्छन् । दिनभरि सामान बेचेर फर्किएका फलफूल तथा तरकारी व्यापारीको पैसा र ढक–तराजु लुटिएका घटना प्रशस्त छन् । मधेसीलाई सबैले हप्की–दप्की गर्न खोज्छन् । हेपेर ‘तँ’ भन्छन् । राज्यले पनि उनीहरूलाई भारतीय मूलको भनेर अपमान गर्छ । काठमाडौंको यस्तो व्यवहारका कारण कतिपय मधेसी युवक फ्रस्ट्रेड भएर गलत बाटोतिर उन्मुख भएका छन् । यसलाई रोक्न खासगरी काठमाडौंमा सुधार ल्याउन आवश्यक छ । यस्तो हुन नदिन मैले काठमाडौंका केही रैथाने नेताहरूसँग सचेतना र्‍याली निकाल्न अनुरोध गरेको छु । ‘मधेसीलाई मस्र्या, भैया, भारतीय नभनौँ, नहेपौँ’ भन्ने सचेतना फैलाउँदै गए मधेसमा व्याप्त फ्रस्ट्रेसन हट्दै जान्छ ।
मधेसी जनतामाझ रहेको यस्तो हेपिएको मनोविज्ञानका कारण पहिलो संविधानसभाको निर्वाचनमा मधेसी दलहरूले निकै राम्रो नतिजा ल्याए । पहिलो संविधानसभा निर्वाचनताका मधेसवादी पार्टीले मधेसी जनताका सवाल चर्को रूपमा उठाएका थिए । तर, दोस्रो संविधानसभाको निर्वाचनमा मधेसी जनताले पुन: राष्ट्रिय पार्टीलाई रोजे । मधेसका एक सय १६ निर्वाचन क्षेत्रमध्ये ५१ क्षेत्रमा कांग्रेस विजयी भयो । एमाले मधेसमा कांग्रेसपछिको दोस्रो ठूलो दल बन्यो । मधेसी जनतामाझ छाएको क्षेत्रीय आवेग शान्त हुँदै गएको र उनीहरू राष्ट्रिय मनोविज्ञानको हिस्सा बन्दै गएको प्रमाण हो, यो ।

०००

मधेसीमा नेपालबाट अलग हुनुपर्छ भन्ने भावना छैन । ०६३/६४ तिर मैले जनकपुरमा अध्ययन गर्दा मधेसीले स्वतन्त्रता खोजेको पाइनँ । मधेसलाई तीनवटा कुरा चाहिएको छ– पहिचान, साधनस्रोतमा पहुँच र सहभागिता । साधनस्रोतमा पहुँच र सहभागिता क्रमिक रूपमा सुनिश्चित हुँदै जाने कुरा हो । मधेसीलाई नेपाली पहिचान दिने र काठमाडौंमा उनीहरूलाई नहेप्ने माहोल बनाए सबै कुरा सामान्य बन्दै जान्छ ।
सिके राउतले जसरी मधेसलाई अलग बनाउने कुरा गरे, त्यो मधेसको सामाजिक–सांस्कृतिक तथा ऐतिहासिक दुवै दृष्टिकोणले असम्भव छ । इतिहासमा के भएको थियो भन्ने कुरा कोट्याउनुको अब कुनै तुक छैन । पृथ्वीनारायण शाहले बलपूर्वक हाम्रो राज्य हडपे भन्दै चित्त दुखाउनु भनेको इतिहासको प्रवाह र गतिलाई नबुझ्नु हो । राज्य भनेको सामथ्र्यकै आधारमा निर्माण हुने चिज हो । बल प्रयोगविना दुनियाँमा कुनै राज्य खडा भएको छैन । नेपालमा पनि त्यही सार्वभौम नियम लागू भएको हो । पृथ्वीनारायण शाहले कसलाई के गरे, सुगौली सन्धिमा के भयो,  जंगबहादुरले कुन सन्धिअन्तर्गत नयाँ मुलुकलाई नेपालमा गाभे र त्यो सन्धिमा कस्तो त्रुटि थियो भन्ने कुरा केलाउनुको अब कुनै तुक छैन । इतिहासलाई बिर्सिएर समृद्ध भविष्यका निम्ति क्रियाशील हुने वेला हो, यो । नेपालमा कुनै समय यादववंशले शासन गरेको थियो भनेर मैले अहिले राजा बन्ने आकांक्षा राख्न मिल्छ ?
मधेसमा दुई–तीन वर्षअघिको कुरा त सबैले बिर्सिन थाले र त्यतिवेला गरेको गल्ती महसुस गर्न थाले भने सयौँ वर्ष पुरानो कुराले मन अमिलो किन बनाउने ?
मधेस आन्दोलनताका मधेसमा उग्र पहाडीविरोधी नारा लागेकै हो । त्यतिवेला पहाडी समुदायका मानिसले आफूलाई ज्यादै असुक्षित महसुस गरेका थिए । आन्दोलनलाई केही मानिसले व्यक्तिगत स्वार्थसिद्ध गर्न प्रयोग गरे । छिमेकमा पहाडी समुदायको घर छ भने ती घरमा आक्रमण गराएर सस्तोमा जमिन खरिद गर्ने प्रपञ्च प्रशस्तै रचियो ।
तर, सिके राउतले चाहेको भन्दा नितान्त भिन्न अवस्था मधेसमा विकसित हुँदै छ । मधेसी आफूलाई बाँकी नेपालसँग अझ गहिरोसँग जोड्न खोज्दै छ । हिजो मधेस आन्दोलनका क्रममा भत्काइएका पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, बिपी कोइरालालगायतको मूर्ति पुनर्निर्माण गर्ने काम धमाधम भइरहेको छ । हिजो मूर्ति भत्काएर गल्ती गरिएछ भन्ने महसुस गरिँदै छ । जनकपुरमा भत्काइएको भानुभक्तको सालिक पुन: बनाइँदै छ । नेपालगन्जमा बिपी चौक, गणेशमानसिंह चोक र पुष्पलाल चौकको नामलाई पुन: कायम गरिएको छ ।
काठमाडौंमा घर बनाएर यतैका महँगा स्कुलमा छोराछोरीलाई पढाउने र मधेसमा आन्दोलन उठाएर स्वार्थसिद्ध गर्न खोज्नेहरूको खेल अब सम्भव छैन । राजनीति गर्नेहरूले मधेसीलाई सधैं मधेसी बनाइरहन चाहन्छन्, नेपाली बनाउन चाहँदैनन् । मधेसी, दलित, जनजातिलाई नेपाली बन्न दिए भोट बैंक ध्वस्त हुन्छ भन्ने उनीहरूलाई लागेको छ ।

०००

भारतसँगको खुला सिमानाका कारण भारत र नेपाल दुवैले अनेक समस्या भोग्दै आएका छन् । खुला सीमाका कारण पारिपट्टि आश्रय लिएर नेपाली जनतालाई अनेकन दु:ख दिन सशस्त्र समूहलाई सजिलो भएको छ । खुला सीमाकै कारण नेपाल हुँदै भारतको सुरक्षामा तेस्रो मुलुकले खेल्न खोजेको पनि केही हदसम्म सत्य हो । त्यसैले दुवै देशको भलाइका लागि नेपाल–भारत सीमालाई रेगुलेट गरिनुपर्छ ।
खुला सीमामार्फत वेला–वेलामा नेपालको साम्प्रदायिक सद्भाव बिथोल्ने हर्कत हुँदै आएको छ । ०६३/६४ तिर रौतहटमा पहाडी र मधेसी समुदायबीच दंगा भड्कियो । पहाडे समुदायका धेरै परिवार भागेर हेटौंडा पुगे । पछि हेटौंडा र बारादेखि मानिस जम्मा गरेर बदला लिन रौतहट पुगे । आफूहरूलाई खेद्ने केहीलाई पक्राउ गरे । तर, यसरी पक्राउ पर्नेमध्ये कोही पनि नेपाली थिएनन् ।
खुला सीमाकै कारण पारिपट्टिबाट मानिसले नेपाल आएर दोहोरो नागरिकता लिन पाएका छन् । भारतीयहरूले नेपाली नागरिकता लिएका कारण मधेसी जनताले अवसरहरूबाट हात धुनुपरेको छ । मधेसीका लागि छुट्याएका सुविधामा पारिका मानिसले दाइँ गरिरहेका छन् । नेतृत्व तहमा पनि पारिपट्टिकै मानिसले माथि उक्लिने मौका पाउने गरेको गुनासो सुनिन्छ । त्यसैले भारतबाट भएको जानसांख्यिक घुसपैठ रोक्न राज्य क्रियाशील भए हुन्थ्यो भन्ने मधेसी जनताको आकांक्षा छ । एउटा आयोग गठन गरी दोहोरो नागरिकता लिनेहरूको पहिचान गरी उनीहरूलाई कारबाही गरी पारि पठाउनुपर्छ । मसँगको कुराकानीमा धेरै मधेसीहरूले ‘हिन्दुस्तानीहरू आएर हाम्रो भाग खोसिदिए’ भन्ने गुनासो गर्ने गरेका छन् ।
खुला सीमाका कारण नेपालको समग्र सुरक्षामा गम्भीर असर पर्ने गरेको छ । माओवादीसहित नेपाली राज्यविरुद्ध सशस्त्र द्वन्द्व गर्ने सबैले भारतीय भूमि प्रयोग गर्ने गरेका छन् । त्यस्तै मधेसमा क्रियाशील धेरै सशस्त्र समूहको आश्रयस्थल भारत नै हो । मधेसमा हतियार उठाउने समूहलाई क्रिमिनल, रिबेलियन, इन्सर्जेन्ट र टेरोरिस्ट गरी चार भागमा विभाजन गरी उनीहरूलाई योग्य ट्रिट गरी समाधान गरिनुपर्छ ।

By सुजित मैनाली
Text and Photo Courtesy: Naya Patrika
http://enayapatrika.com/mid-page/8828.html
 

Sunday, September 14, 2014

नेपाल टुक्राउछु भन्नेलाई ताम्रपत्र दिने त ?

- सुजित मैनाली

नेपाल टुक्राउन पाउनुपर्छ भन्दै तथाकथित मधेसको अलग राष्ट्रगान र झण्डा बनाउने एउटा राजनीतिक नौटंकीवाजलाई पक्राउ किन गरेको रे ? त्यस्तालाई के ताम्रपत्र र सयपत्रिको मालाले सम्मान गर्ने त ? 
केही समययता मैले राणाकालमा ब्रिटिसहरुले नेपालबारे उल्लेख गरेका करिब ६० वटा किताब पढेँ । ती कुनै पनि किताबमा मधेस शब्द छैन । नेपालको दक्षिणी समतल फाँटलाई सबै किताबमा तराई भनि सम्बोधन गरिएको छ ।
र अर्को कुरा, मधेसका वास्तविक भुमिपुत्र थारु हुन् । त्यतिबेला तराईमा थारुबाहेक हात्ती, अर्ना, गैढा, बाघभालु र लामखुट्टेको मात्र अस्तित्व थियो । थारुहरुको जिनमा सिक्कल सेल नामक रोगको अंश रहेकाले उनीहरुलाई मलेरिया लाग्दैनथ्यो । सिक्कल सेल लागेको मानिसलाई मलेरिया लाग्दैन किनकी यी दुई रोग एकैसाथ रहन सक्दैनन् भन्ने चिकित्साविज्ञानले प्रमाणित गरिसकेको छ । नेपालबाट मलेरिया उन्मुलन भइसकेपछि थारुहरुमा अहिले सिक्कल सेलले विकराल रुप लिन थालेको कुराले समेत यसको पुष्टि गर्छ ।
जंगबहादुरको उदयपछि नेपालले ब्रिटेनप्रति थप आइसोलेसनिष्ट पोलिसी लियो । यसका लागि तराईमा जस्तै भित्री तराईमा पनि घना जंगल उम्रन दिइयो । भित्री तराईमा जंगल उमार्न त्यहाँका वस्तीलाई पहाडी इलाकामा सारिएको थियो । बेलायतसँग युद्ध गर्नु परेमा नेपालभित्र प्रवेश गर्नबाट ब्रिटिश सैनिकलाई रोक्ने उद्देश्यले यस्तो प्राकृतिक निरोधक (डिटरेन्स)मार्फत नेपाली सिमानाको किलाबन्दी (फोर्टिफिकेसन) गरिएको थियो । ‘तिमीहरुले तराई र भित्री तराईमा मलेरियायुक्त जंगल निर्माण गरेर के भयो, हामीले चाह्यौं भने बाग्मतीको किनारै किनार काठमाडौंमा धावा बोल्न सक्छौं’ भनेर ब्रिटिशहरुले त्यतिबेलै भनेका थिए ।
यसरी इतिहासमा कहिल्यै हुँदै नभएको मधेस माग्ने निर्लज्ज मगन्तेको पक्षमा लाग्नेहरु कुन नियतबाट परिचालित छन् भन्ने बुझ्न अप्ठेरो छैन । त्यस्ता मानिसले विभिन्न एनजिओ/आइएनजिओबाट प्रोजेक्ट लिएर वर्षमा कति भारु हजम गर्छन् भन्ने मात्रै नियाले सबै कुरा प्रष्ट हुन्छ ।

Thursday, September 4, 2014

मुम्बईमा डनहरूको इन्काउन्टर


दक्षिण एसियामा डनहरू बढी सक्रिय भएको मुलुक हो, भारत । बिहार, उत्तर प्रदेशलगायत भारतीय राज्यमा राजनीतिको कभर लिएर तस्करी, अपहरणलगायत आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति प्रशस्त भए पनि डन कल्चर सबैभन्दा फस्टाएको भारतको ठाउँ भनेको भारतीय राज्य महाराष्ट्रको औद्योगिक नगरी मुम्बई हो । अरबजगत्सँग समुद्रमार्फत जोडिएको औद्योगिक सहर मुम्बईमा हप्ता असुलीबाट सुरु भएको डन कल्चरको जरा अहिले विभिन्न मुलुकमा फैलिसकेको छ । हप्ता असुली, मदिराको अवैध व्यापार, कन्ट्रयाक्ट किलिङ, अपहरण र फिरौती, सुन तस्करी, लागुऔषध ओसारपोसार, टेन्डर कब्जा हुँदै बढेको मुम्बई माफियाको सञ्जाल अहिले भारतका लागि मुख्य सुरक्षा चुनौतीको सूचीमा परेको छ ।
डनहरूको सामथ्र्य विस्तार रोक्न प्रहरी प्रशासनले चलाएको इन्काउन्टर अभियानमा भारतका थुप्रै डनको ज्यान गुमाएका छन् । बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै डन कल्चरले मुम्बईमा जरा हाल्न सुरु गरेको हो । एकातिर डन आतंक बढ्दै गएपछि र अर्कोतिर डनहरूबीचको रिसिइबीले दिनदहाडै मुम्बईका सडकमा हत्याहिंसाको शृंखला चलेपछि मुम्बई प्रहरीले इन्काउन्टरको शृंखला आरम्भ गरेको थियो ।
९० को दशकको मध्यतिर मुम्बईमा प्रहरी इन्काउन्टरले एक्कासि गति लियो । त्यतिबेला हरेक दिनजसो मुम्बईका पत्रपत्रिकाले डनहरूको अखडामा प्रहरीले हानेको ‘रेड’ र इन्काउन्टरमा मारिएका डनहरूबारे समाचार प्रकाशन गरेको थियो ।
डनहरूको आतंक बढ्दै गएपछि मुम्बई प्रहरीले प्रशासनभित्रका चुनिन्दा इन्काउन्टर स्पेसलिस्टहरूको एउटा स्क्वायड बनायो । मुम्बई प्रहरीको सो स्क्वायडले सात वर्षसम्म डनहरूको संरचनालाई करिब–करिब ध्वस्त बनाइदियो । यसबीच झन्डै ६ सय डन र उनीहरूले पालेका गुन्डाको इन्काउन्टर भयो । इन्काउन्टर शृंखलापछि मुम्बईका व्यापारी र बासिन्दाले डनहरूलाई छाक काटेर हप्ता बुझाउनुपर्ने, फिरौती तिर्नुपर्ने र अहोरात्र डरैडरमा बाँच्नुपर्ने बाध्यताबाट धेरै हदसम्म उन्मुक्ति पाए । डनहरूको दबदबा धेरै हदसम्म निर्मूल गर्न सफल सन् १९८३ को मुम्बई प्रहरीको ब्याच यति चर्चित बन्यो कि उनीहरूबारे बलिउडमा सयौँ फिल्म बनेका छन् । यस्ता फिल्म बन्ने क्रम अझै जारी छ ।
०००
मुम्बई प्रहरीले सञ्चालन गरेको इन्काउन्टरको शृंखलाबारे चर्चा गर्दा सबैभन्दा बढी सम्झिने नाम हो– इन्सपेक्टर प्रदीप शर्मा । करिब एक सय १३ गुन्डालाई इन्सपेक्टर शर्माले इन्काउन्टरमा मारेका थिए । उनी सन् १९८६ को मुम्बई प्रहरीको ब्याचका हुन् ।
आफूजस्तै ‘सार्प सुटर’ सहकर्मीहरूको साथमा उनले मुम्बई माफियाको साम्राज्यमा उनले धावा बोलेका थिए । भनिन्छ, प्रदीपले डनहरूलाई निसाना नबनाएको दिन विरलै हुन्थ्यो । हरेक रात घर फर्किंदा उनको लुगामा रगतको छिटा लागेको हुन्थ्यो ।
०००
इन्काउन्टरको नाममा जथाभावी गोली चलाएको र सामान्य अवस्थामा समेत गोली हानेर अनावश्यक रक्तपात मच्चाएको आरोप उनीमाथि बारम्बार लाग्ने गथ्र्यो । मुम्बई माफिया डन छोटा राजन समूहका रामनारायण गुप्तालाई ‘फेक इन्काउन्टर’मा पारी हत्या गरेको आरोपमा उनलाई एकपटक पक्राउ गरिएको थियो । उनलाई लामो समयम्म न्यायिक हिरासतमा राखियो । निर्दोष साबित भएर रिहा भएपछि उनलाई प्रहरी प्रशासनमा पुन: सक्रिय गराइयो ।
०००
प्रदीपकै ब्याचका प्रहरी अफिसर हुन्, विजय सलास्कर । प्रदीपसँग मिलेर उनले थुप्रै गुन्डाको इन्काउन्टर गरेका थिए । उनले जम्मा ८३ डनलाई मृत्युको मुखमा पुर्‍याएका थिए । अमर नइक, सादा पावलेलगायत गुन्डा नाइकेहरूको उनले इन्काउन्टर गरेका थिए । नोभेम्बर २६, सन् २००८ मा मुम्बईमा भएको आतंकवादी हमलामा परी उनको मृत्यु भएको थियो । आतंकवादी समूह लस्कर–ए–तोयबाले गराएको सो आक्रमणमा आतंकवादी अजमल कसाबलाई रोक्न अघि बढ्दा उनलाई गोली लागेको थियो ।
बलिउडले सबैभन्दा बढी रुचाएका इन्काउन्टर स्पेसलिस्टमध्येका एक हुन्, सब–इन्सपेक्टर दया नायक । मुम्बई अन्डरवल्र्डबारे बनेको सुपरहिट फिल्म ‘अब तक छप्पन’मा अभिनेता नाना पाटेकरले दयाको भूमिकालाई जीवन्त बनाएका छन् ।
मुम्बई माफियाहरूको सातोपुत्लो उडाउने अर्को इन्काउन्टर स्पेसलिस्ट हुन्, प्रफुल भोसले । दक्षिणी मुम्बईमा दह्रोसँग फैलिएको माफियागिरीको जालो उनले भत्काइदिएका थिए । डन अरुण गवालीलाई समेत उनले तारो बनाएका थिए । तर, राजनीतिको शरण लिएर गवाली प्रफुलको गोली छल्न सफल भए । प्रफुलको इन्काउन्टर स्क्वायडमाथि पछि प्रतिबन्ध लगाइयो । तर, पनि उनले अपराधीहरूलाई तारो बनाउन छाडेनन् ।
उनको कामको मूल्यांकन गर्दै उनलाई पदोन्नति गरेर इन्सपेक्टर बनाइयो । डन छोटा सकिलका ‘सार्प सुटर’ अरिफ कालियाको उनले सन् २००२ मा इन्काउन्टर गरेका थिए । प्रहरी प्रशासनमा लाग्नुअघि उनी बैंकका कर्मचारी थिए । उनमा अनुसन्धानको कला पनि राम्रो थियो । अपराध नियन्त्रणमा उनको योगदानको कदर गर्दै सन् २०००–२००१ मा उनलाई ‘बेस्ट डिटेक्सन अफिसर’को पदक दिइएको थियो । एकजना गुन्डालाई प्रहरी कस्टडीमै हत्या गरेको आरोपमा पछि उनलाई पक्राउ गरिएको थियो । तर, उनी रिहा भए । अहिले उनी मुम्बई प्रहरीको डकैती नियन्त्रण विभागको नेतृत्वमा छन् ।
०००
६३ जना गुन्डाको इन्काउन्टर गर्ने असइ सचिन भाजे पनि मुम्बई प्रहरीमा सम्झिनयोग्य पात्र हुन् । त्यस्तै इन्सपेक्टर रवीन्द्र अंग्रेले ५१ जना डनको सिकार गरेका थिए । सुराकीहरूको बलियो नेटवर्क बनाएर काम गर्ने अफिसरका रूपमा चिनिन्छ, रवीन्द्रलाई । रवीन्द्रसँग डराएर सुरेश माच्नेकरलगायत गुन्डा मुम्बईको माफियागिरी छोडेर अन्यत्रै भागेका थिए । तर, पनि सचिनले उनीहरूलाई खेदेर मारे ।
इन्काउन्टरमा अर्धशतक पूरा गरेपछि उनले केही सहकर्मी र मिडियाकर्मीलाई पार्टी दिएका थिए । निर्माण व्यवसायीसँग जबरजस्ती रकम असुल्न खोजेको आरोपमा पछि उनलाई पक्राउ गरिएको थियो । अझै उनी जेलमा छन् ।
०००
इन्काउन्टर अभियान सुरु गर्नुअघि मुम्बई प्रहरीले माफिया, डन र उनीहरूले पालेका गुन्डाको सूची तयार पारेको थियो । उनीहरूको अखडा, गतिविधि ‘फलो’ गरी यसबारे पर्याप्त सूचना बटुलेको थियो । डनहरूले जबरजस्ती रकम मागेका व्यवसायी तथा धनाड्यहरूलाई सुरक्षाको ग्यारेन्टी दिएर गुन्डाबारे बढीभन्दा बढी सूचना एकत्रित गरिएको थियो ।
मुम्बई प्रहरीले इन्काउन्टर अभियानमा जासुसको सक्दो सहयोग लिएको थियो । मुम्बई प्रहरीले ठाउँठाउँमा खबरी (जासुस) तैनाथ गरेको थियो । डनहरूले प्रहरीभित्रै खबरी खडा गरेझैँ प्रहरीले पनि माफियाहरूकै समूहभित्रका सदस्यलाई समेत खबरी नियुक्त गरेको थियो । मुम्बईमा डनहरूको सञ्जाल ध्वस्त बनाउन इन्काउन्टर स्क्वायडलाई खबरीको सञ्जालले ठूलो सहयोग गरेको थियो ।
मुम्बईका डन
अफगानिस्तानको कुनार प्रान्तमा जन्मिएका करिम लाला मुम्बईमा माफियागिरी सुरु गर्ने गुन्डा हुन् । पाकिस्तानको पेसावर हुँदै उनले मुम्बईमा पुगेर डनगिरी सुरु गरेका थिए । अफगानिस्तानको पठान समुदायका उनी पठान जातिका डनहरूको नाइके थिए ।
सुनचाँदी तस्करी, जुवाको खाल सञ्चालन, मदिराको अवैध व्यापार र हप्ता असुलीमार्फत करिम लालाले मुम्बईमा डनगिरी सुरु गरेका थिए । माफियाजगत्मा भतिजो समाद खानको उदयपछि करिम लालाको प्रभाव घटेको थियो ।
करिम लालाबाट प्रभावित भएर डनगिरीमा उत्रिने व्यक्ति हुन्, युसुफ पटेल । उनीसँगै हाजी मस्तानले पनि मुम्बई माफियाजगत्मा प्रभाव फैलाउँदै लगेका थिए ।
मुम्बई माफियाजगत्का रोचक पात्र हुन्, हाजी मस्तान । अक्सर सेतो पहिरनमा सजिएर आयातित महँगो चुरोट पिउने स्वभावका हाजी आतंक मच्चाउने काममा भन्दा पैसा कमाउने धन्दातिर बढी आकर्षित थिए । दुबईका व्यापारीहरूसँगको मिलोमतोमा उनी सुनचाँदी तस्करी गरी भारत भित्र्याउने गर्थे । करिम लाला र युसुफ पटेलको सहारामा उनले ठूलै माफिया सञ्जाल विस्तार गरेका थिए । बलिउडको ‘वन्स अप अन अ टाइम इन मुम्बई’ फिल्ममा अभिनेता अजय देवगनले हाजीको भूमिकालाई जीवन्त उतारेका छन् ।
मुम्बई माफियाको पछिल्लो पुस्ताले डरको खेती गरी बलियो सञ्जाल फैलाएको थियो । बडा राजनको नामले कुख्यात राजन नायर मुम्बई माफियागिरीको पछिल्लो पुस्ताका पहिलो डन हुन् । मुम्बईका अन्य डनलाई बडा राजनले तारो बनाएपछि मुम्बईमा रक्तपातको शृंखला आरम्भ भएको थियो । मुम्बईमा त्यतिवेला बलियो मानिएको पठान समूहका सदस्य अमिर्जादालाई अदालतभित्रै मार्न बडा राजनले एक सुटरलाई सुपारी दिएका थिए । अमिर्जादा मारिएको १५ दिनभित्र राजनलाई पठान समूहले मारेको थियो ।
मुम्बई माफिया सञ्जालका सबैभन्दा कुख्यात पात्र हुन्, दाउद इब्राहिम । प्रहरीका छोरा भए पनि दाउदले सानै उमेरदेखि कानुन उल्लंघन गर्ने कार्यमा विशेष रुचि देखाएका थिए । छोटा राजन, रामा नाइक, बाबु रसिम, सञ्जय रुगड, दिभाल्कर चुरीलगायत डनहरूलाई आफ्नो समूह ‘डी’ कम्पनीमा आबद्ध गराएर उनले आफूलाई मुम्बई माफियाको सबैभन्दा शक्तिशाली डनका रूपमा उभ्याएका थिए । त्यतिवेला मुम्बईमा पठान समूहको जगजगी थियो । पठान समूहले आफ्नो दाजुको हत्या गरेपछि दाउदले पठान समूहलाई मुम्बईबाट पूरै सोत्तर बनाइदिएका थिए ।
दाउदको प्रभाव बढ्दै गएपछि प्रहरीले उनलाई तारो बनाउन थाल्यो । फलस्वरूप दुबईमा बसाइ सरेर उनले त्यहीँबाट मुम्बईमा माफियागिरी सञ्चालन गर्न थाले । दुबईमा पनि भारतीय सुरक्षा निकायबाट असुरक्षित महसुस गरेपछि उनी पाकिस्तान पुगे । अहिले पाकिस्तानको लाहोरमा बसेर उनले भारतलगायत विभिन्न राष्ट्रमा फैलिएको आफ्नो माफिया सञ्जाल सञ्चालन गर्दै आएको बताइन्छ ।
बडा राजनको समूहमा आबद्ध भएर डनगिरी सुरु गरेका छोटा राजनलाई पछि दाउदले आफ्नो समूहमा लिए । बडा राजनका हत्यारालाई सयौँ मानिसकै अगाडि दिनदहाडै हत्या गरेपछि उनलाई दाउद इब्राहिमले आफ्नो समूहमा लिएका थिए । छोटा राजनले वर्षौंसम्म दाउद इब्राहिमको दाहिने हात भएर काम गरे ।
सन् १९९३ मा मुम्बईमा भएको आतंकवादी हमलामा दाउदको नाम मुछिएपछि उनले दाउदसँग विद्रोह गरे र आफ्नै समूह खडा गरे । त्यसपछि दाउद समूहले छोटा राजनमाथि थाइल्यान्डमा सांघातिक हमला गर्‍यो । हमलाबाट घाइते भएका छोटा राजनले त्यसयता पूर्णत: भूमिगत भएर मुम्बईलगायत विभिन्न देशमा दाउद इब्राहिमले जस्तै डनगिरी र माफिया सञ्जाल सञ्चालन गरिरहेका छन् ।
उनीहरूबाहेक रामा नाइक, अरूण गावली, हेमन्त पुजारी, सन्तोष सेट्ठी, रवि पुजारी, गुरु सतम, कुमार पिल्लेइलगायत मुम्बई माफियाका पछिल्ला कुख्यात अनुहार हुन् ।
सुजित मैनाली

From : http://enayapatrika.com/mid-page/2385.html

मानवझण्डा बनाउने पैसा कहाँबाट आयो ?


सुजित मैनाली
 मानव झण्डा बनाएर विश्व किर्तिमान कायम गर्नु गौरवको विषय हो । तर, यस्तो काम गराउनुमा कसैको खराब नियत लुकेको त छैन भन्नेमा पनि चनाखो रहनुपर्छ ।
इटालीका Neo-Marxist एन्टोनियो ग्राम्स्कीले हेजेमनी थ्योरी विकास गरेका छन्, जसअनुसार आधिपत्य टिकाउन आधिपत्यकारीले नागरिक समाजलाई पनि हतियार बनाउँछन् । यस्ता तथाकथित नागरिक समाजको मूल उद्देश्य हुन्छ– जनतालाई आधिपत्य स्विकार गर्न मनोवैज्ञानिक रुपले तयार पार्नु । आधिपत्यसामू त्वम् शरणम गर्नुको विकल्प छैन भन्ने उनीहरुको कुरा जनताले तब मात्रै पत्याउँछन्, जब नागरिक समाजका अगुवा हामीहरुको भलाई, अभिमान, शान र गौरवका लागि क्रियाशिल हुने गर्छन् भन्ने उनीहरुलाई लाग्छ । यस्तो विश्वास जगाउन नागरिक समाजले मानवझण्डा निर्माणजस्ता पपुलिष्ट हतकण्डा अपनाउने गर्छन् ।
यी सब कृत्यको पोल खोल्न त्यस्ता तथाकथित नागरिक समाजले कार्यक्रम गर्न कहाँबाट पैसा जुटाउँछन् भन्ने बुझ्नु भनेर ग्राम्स्कीले सुझाएका छन् ।
मानव झण्डाको आयोजक Human Values for Peace and Prosperity यस्तो नागरिक समाज पक्कै पनि होइन होला । तर, उसको मूख्य पार्टनर आर्ट अफ लिविङका रविशंकर रहेछन्, जसले नेपाली जडिबुटी, साधनस्रोत र अध्यात्ममाथि खुब आँखा गाडेका छन् । राजनीतिशाष्त्रका अनुसार राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय मनोविज्ञानको लगाम कुनै विदेशीको हातमा जानु राष्ट्र-राज्यका लागि शुभ होइन ।
पुनश्च : यो आरोप होइन, घटनालाई अर्को कोणबाट हेर्न खोज्ने जमर्को हो ।

नेपालको कुटनीतिक इतिहासका तीन शिखर पुरुष



सुजित मैनाली
विगत केही महिनायता नेपाली इतिहासका किताब पढिरहेको छु । नेपाली इतिहासको कुटनीतिक पक्षलाई केलाउँदा तीनजना मानिसप्रति ज्यादै सम्मान जाग्यो, जसले नेपाली स्वाभिमानलाई गिर्न नदिएर नेपाली सार्वभौमिकतालाई अझ बलियो बनाउँदै लगेका रहेछन् । यी तीन व्यक्ति हुन्, जंगबहादुर राणा, चन्द्र शमशेर र राजा महेन्द्र शाह ।

युरोप भ्रमण गरी बेलायत र फ्रान्सको सैन्य सामथ्र्य नियालेर यसले विश्वराजनीतिक रंगमञ्चमा पार्ने प्रभावको आँकलन गरी जंगबहादुराले बेलायतसँग नजिकिने नीति लिइ नेपाली सार्वभौमिकतालाई अक्षुण राख्ने काम गरे । तर उनले बेलायतीलाई नेपालमा मनपरी गर्न त के, खुला रुपमा हिँडडुल गर्न पनि दिएनन् ।

चीन र ब्रिटिश इन्डियाबीच तिब्बत ‘बफर स्टेट’ बनेको अवस्थामा अनेक प्रतिकुलताका बीच पनि चन्द्र शमशेरले बेलायतलाई नेपालसँग समान हैसियतमा मैत्री सन्धी गर्न बाध्य पारे । चीन र ब्रिटेनबीच युद्ध हुँदा हस्तक्षेप गरी उनले यी दुई शक्तिबीच वार्ताको सफल मध्यस्तता गरिदिए । चन्द्र शमशेरकै कारण नेपाललाई ब्रिटेनले सार्वभौम राष्ट्रको मान्यता दियो, जुन हैसियतलाई बिथोल्न नवस्थाधिन भारतका केही अतिवादी नेताले समेत सकेनन् ।

त्रिभुवनलाई बन्दी बनाई त्रिपक्षीय दिल्ली सम्झौता गराएर भारतले नेपालको घरेलु, बाह्य तथा प्रतिरक्षा मामिलामा हालिमुहाली गर्न थालेको थियो । तर, महेन्द्रले नेपाललाई राष्ट्रसंघको सदस्यता दिलाए र चीन, रुस, पाकिस्तानलगायत मुलुकसँग दौत्य सम्बन्ध कायम गरे । चीन तथा अमेरिकासँग नेपाललाई थप नजिक्याएर उनले नेपालमा भारतीय प्राधिकारलाई भुत्ते बनाइदिए । आधुनिक नेपाली कुटनीतिको जग मात्र नभई आधुनिक नेपाली राज्यकै जग बसाउने काम महेन्द्रले गरेका रहेछन् ।

शाहवंशले बनाएको इतिहासमा राणाहरुलाई राक्षससमान बर्बर चित्रण गरिएको थियो । तर राणाहरु स्वाभिमानी शासक पनि रहेछन् । गणतन्त्र नेपालको इतिहासमा महेन्द्रलाई खुँखार जनविरोधीका रुपमा चित्रण गरिएको छ । तर उनी नेपाली स्वाभिमानलाई गिर्न नदिने ठूला देशभक्त पनि रहेछन् ।

तेन्जिङलाई नेहरूको थोत्रो लुगा

सगरमाथाको चुचुरोमा पुग्ने पहिलो दुई व्यक्तिमध्येका तेन्जिङ नोर्गे शेर्पालाई नेपाल र भारत दुवैले  आफ्नो नागरिक दाबी गर्दै आएका छन् । सगरमाथा चढेपछि तेन्जिङले बकाइदा नेपाली पासपोर्टमा भिसा लगाएर युरोप भ्रमण गरेका  थिए । तेन्जिङलाई यसरी विदेश भ्रमण गराउन दिल्लीस्थित तत्कालीन नेपाली राजदूत विजयशमशेरले महत्त्वपूर्ण भूमिका खेलेका थिए । तेन्जिङलाई  विदेश पठाउँदाको क्षणबारे राजदूत विजयले तत्कालीन प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई ३ जुलाई, १९५३ मा औपचारिक पत्र पठाई ‘ब्रिफिङ’ गरेका थिए । मातृकाप्रसाद कोइरालाको आत्मकथा ‘अ रोल इन अ रिभोल्युसन’मा संकलित पत्रलगायत स्रोतका आधारमा तयार पारिएको आलेख :
तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगे । मानिसका लागि अभेद्य मानिएको सगरमाथाको चुचुरोलाई पाइतालामुनि बनाएर २९ मे, १९५३ मा उनीहरूले नयाँ इतिहास रचे ।
सगरमाथाको चुचुरोमा पुग्नु त्यतिवेला चानचुने कुरा थिएन । सगरमाथाको सफल आरोहणपछि उनीहरू सम्पूर्ण विश्वको केन्द्र बन्न पुगे । विश्वभरका मुख्यपत्रिका र टेलिभिजनका क्यामेरा यी दुई पर्वतारोहीतर्फ तेर्सिए । नेपाली माटोमा हुर्के, बढेको ठिटोले इतिहास रचेको घटनाले नेपाली स्वाभिमानलाई ह्वात्तै माथि पुर्‍याएको थियो । तर, हिलारीले तेन्जिङलाई ‘यो पर्वतारोही होइन, भरिया हो’ भनी होच्याएको प्रसंगले नेपालीको मनमा आक्रोश पनि चुलिएको थियो ।
तेन्जिङ र हिलारी सगरमाथाबाट फर्किएपछि स्वागत गर्न काठमाडौंबाट धुलिखेलतर्फ मानिसको लर्को लागेको थियो । तेन्जिङका लागि भनेर दौरासुरुवाल र माला लगिएको थियो । स्वागत टोलीले धुलिखेलमा तेन्जिङलाई माला लगाइदिँदै भनेको थियो, ‘अब तपाईंलाई देशविदेशका पत्रकारले अनेक प्रश्न सोध्नेछन् । म सगरमाथाको चुचुरोमा पुगेर आएको हुँ भन्नुहोला ।’ स्वागत टोलीले यसो भन्नसाथ तेन्जिङले रिसाएर माला चुँडाउन खोज्दै भनेका थिए, ‘उता हिलारी सा’बले म चुचुरोमा पुगिनँ भन्नु भन्नुभएको छ । तपाईंहरूचाहिँ पुगेँ भन् भन्नुहुन्छ । मलाई किन अप्ठयारोमा पारेको सबैले ।’ तेन्जिङको यस्तो अबोध कुरा सुनेर हिलारीप्रति सबै आक्रोशित भएका थिए ।
सँगसँगै भारतीय सञ्चारमाध्यम र कर्मचारीतन्त्रले तेन्जिङ नेपाली नभई भारतीय नागरिक रहेको प्रचारबाजी गरिरहेकाले नेपालमा आक्रोशको पारो झन्झन् माथि उक्लिरहेको थियो । रेडियो नेपालले धर्मराज थापाको गीत ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत छिनछिनमा बजाएर नेपाललाई तेन्जिङमय बनाएको थियो । भारतीय दाबीका कारण काठमाडौंमा दंगा भड्किन नपाओस् भनेर सरकारले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
०००
नेपाल र भारतबीच तेन्जिङ कुन राष्ट्रको नागरिक हुन् भन्नेमा रस्साकस्सी चलिरहेको थियो । सोलुखुम्बुमा हुर्के, बढेका तेन्जिङ स्वत: नेपाली भएको नेपाली पक्षको तर्क थियो । जिविकोपार्जनका क्रममा नेपालबाट दार्जिलिङ गएर उतै काम गरी बसेकाले तेन्जिङ भारतीय नागरिक रहेको भारतीय पक्षको दाबी थियो । कामका सिलसिलामा जहाँ पुगिन्छ, त्यो नै आफ्नो देश कसरी हुन्छ भन्ने नेपालीको प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसके पनि भारतीय सञ्चारमाध्यमले तेन्जिङलाई भारतको सान र गौरव बताउन छाडेको थिएन ।
दुवै सञ्चारमाध्यमले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका वेला दुई देशबीचका कूटनीतिज्ञबीच तेन्जिङमाथि दाबी गर्ने होडबाजी पनि सँगसँगै चलिरहेको थियो । भारतका लागि पहिलो नेपाली राजदूत विजयशमशेर राणाले कूटनीतिक च्यानलमार्फत तेन्जिङ नेपाली नागरिक भएको पुष्टि गर्न कुनै कसर बाँकी राखेका थिएनन् । उनको गतिविधिका कारण तेन्जिङलाई भारतीय प्रमाणित गर्न भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पनि अप्ठयारो परेको थियो ।
०००
जुन २८, सन् १९५३ मा तेन्जिङ नयाँदिल्लीको विमानस्थलमा ओर्लिए । तेन्जिङको स्वागत गर्न हजारौँ मानिस एयरपोर्ट पुगेका थिए । समाचार संकलनका लागि सयौँ पत्रकार पुगे । उनलाई ‘रिसिभ’ गर्न भारतीय विदेश मन्त्रालयका शिष्टाचार माहापाल र विदेश तथा गृह मन्त्रालयका ज्वाइन्ट सेक्रेटरी विमानस्थल पुगेका थिए । भारतस्थित बेलायती हाइकमिसनका कायममुकायम हाइकमिसनर र अन्य अफिसर पनि पुगेका थिए । दिल्लीस्थित नेपाली दूतावासबाट राजदूत विजयशमशेरलगायत सबै अधिकारी तेन्जिङलाई लिन पुगेका थिए ।
तेन्जिङको दिल्ली बसाइको सम्पूर्ण कार्यतालिका नेपाली दूतावासले तयार पारेको थियो । उनको बसोबासको चाँजोपाँजो नेपाली दूतावासमै मिलाइएको थियो । लाक्पा नाम गरेका तेन्जिङका सहयोगीले तेन्जिङलाई भारतीय राष्ट्रपतिको आवासमा राख्न भरमग्दुर प्रयत्न गरेका थिए । तर, नेपाली दूतावासका अधिकारीहरूले तेन्जिङलाई दूतावासमै आतिथ्य दिलाइछाडे ।
०००
तेन्जिङ दिल्ली पुगेकै दिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले एडमन्ड हिलारीको सम्मानमा रिसेप्सन आयोजना गरेका थिए । नेपाली दूतावासका कर्मचारीलाई पनि बोलाइएको थियो । तेन्जिङसँग भेटघाट र कुराकानी गर्न पाउँदा नेहरू त्यसैत्यसै प्रसन्न देखिन्थे ।
रिसेप्सन पार्टीमा नेहरूले नेपाली राजदूत विजयशमशेरलाई सोधे, ‘यो नेसनालिटीको विवाद के हो ? कुरा कहाँबाट उठ्यो ? यस्ता फाल्तु कुरामा मलाई विश्वास छैन ।’
केही बेर मौन रहेर नेहरूले थपे, ‘तेन्जिङलाई लिएर मेरो अफिसमा आउनूस् न, आरामसँग बसेर कुरा गरौँला ।’
०००
तेन्जिङ दिल्ली आइपुगेकै दिन भारतीय नेता मौलाना अब्दुल कलाम आजादले आफ्ना सेक्रेटेरीलाई तेन्जिङसँग भेट्न पठाए । सेक्रेटेरीमार्फत तेन्जिङलाई आजादले भने, ‘तपाईंले बेलायत भ्रमण गर्नु राम्रो हुन्छ ।’ राजदूत विजयसँग पनि आजादले यस्तै कुरा गरे । राजदूतलाई बोलाएर आजादले भने, ‘तेन्जिङ र हिलारीबीच मनोमालिन्य भएको कुरा पत्रपत्रिकाले लेखिरहेका छन् । यस्तोमा तेन्जिङ बेलायत नगई दार्जिलिङतिर लागे भने छायामा पर्न सक्छन् । पछि बेलायत जाँदा बेलायत सरकारले त्यति कदर नगर्न सक्छ । त्यसैले उनलाई अहिल्यै पठाउन पहल गर्नुभयो भने बेस हुन्छजस्तो मलाई लागेको छ । प्राइममिनिस्टर (नेहरू)को राय पनि यस्तै छ ।’
०००
भारतीय राष्ट्रपति भवनमा तेन्जिङलाई लिएर विजयशमशेर गएका वेला नेहरूले नेपाली राजदूतसँग आजादकै लाइनमा कुरा गरेका थिए । कुराकै सिलसिलामा केही पर रहेका तेन्जिङलाई बोलाएर नेहरूले सोधे, ‘जाने होइन बेलायत ?’
नेपाली दूतावासका अधिाकरीहरूले पनि तेन्जिङलाई बेलायत भ्रमण गर्न उक्साए । सबैको आग्रहपछि तेन्जिङ तयार भए । तर, श्रीमती र छोरीहरूलाई पनि सँगै लैजान पाउनुपर्ने सर्त राखे । यसमा असहमति जनाउन कसैले आवश्यक ठानेन ।
नेहरूले विजयशमशेरसँग भने, ‘उहाँको पासपोर्ट छ कि छैन ?’
विजयले भने, ‘म बनाइदिहाल्छु नि ।’
‘डिप्लोमेटिक पार्सपोर्ट चाहिएला नि ?’ अलिक गह्रौँ तरिकाले नेहरूले सोधे ।
‘त्यो पनि हाम्रो सरकारसँग परामर्श गरेर भोलि नै बनाइदिन्छु ।’
नेहरू केही बोलेनन् ।
०००
भोलिपल्ट तेन्जिङलाई लिएर विजयशमशेर भारतीय प्रधानमन्त्रीको कार्यालय पुगे । कुराकानीकै क्रममा नेहरूले तेन्जिङको राष्ट्रियताको प्रसंग उठाउँदै भने, ‘तेन्जिङ नेपाली भए पनि, हिन्दुस्तानी भए पनि यसमा वादविवाद किन गर्ने ? यो प्रकृतिमाथि मानवजातिको विजय हो ।’
नेपाली पक्षले तेन्जिङको राष्ट्रियताको कुरा उठाएको थिएन । भारतीय पत्रपत्रिकाले एकाएक जबरजस्त रूपमा तेन्जिङ भारतीय रहेको प्रचारबाजी थालेको देखेर सम्पूर्ण नेपाली चकित परेका थिए ।
‘तेन्जिङ महोदय नेपालीमा जन्मी, त्यहीँ हुर्कि–बढी, जिविका चलाउन भारत पस्नुभएको हो । नेपालमा उहाँकी आमा अझै जिवित हुनुहुन्छ, उहाँको घर अहिले पनि छ । फेरि उहाँले नेपाली नागरिकता त्याग्नु पनि भएको छैन । तर, तेन्जिङ विगत १५/२० वर्षदेखि दार्जिलिङमा बसोबास गर्दै आएको पनि सत्य हो,’ विजयशमशेरले नेहरूलाई भने ।
विजयको कुरा सुनेपछि तेन्जिङतिर फर्किएर नेहरूले सोधे, ‘आप ही कहिये, ये सब क्या हे ?’
जवाफमा तेन्जिङले भने, ‘मै तो कुछ नहीँ जानता साहेब । मै तो नेपालका भी हुँ, हिन्दुस्तानका भी हुँ ।’
तेन्जिङको कुरा सुनेपछि मुसुमुसु हाँस्दै नेहरूले भने, ‘ठीक छ, ठीक छ ।’
०००
तेन्जिङलाई बेलायत पठाउने तयारी सुरु भइसकेको थियो । तर, तेन्जिङचाहिँ अझै पनि पहिले दार्जिलिङ गएर त्यसपछि मात्रै बेलायत जान चाहन्थे । सबैले कर गरेपछि तेन्जिङले पहिले दार्जिलिङ जाने मोह त्यागिदिए । तर, आफ्ना सहयोगी लाक्पालाई पनि सँगै पठाउनुपर्छ भन्ने नयाँ सर्त राखे ।
नेहरूले चाहिँ तेन्जिङका जहान, बच्चालाई मात्र पठाउने विचार गरेका थिए । विजयशमशेर र नेहरूबीच यस विषयमा छलफल भएको थियो । लाक्पालाई बेलायत नपठाउने कुरामा विजयले पनि सहमति जनाए ।
‘अँ साँच्ची, पासपोर्टको कुरा के भयो ?’
नेहरूले सोधे ।
‘तपाईंले भनेबमोजिम हिजै गरिसकेँ ।’
‘तेन्जिङलाई नेपाली पासपोर्टमा उडाउन लागेको कि हिन्दुस्तानी पासपोर्टमा ?’
‘नेपाली पासपोर्टमा पठाउने हो । मैले सबै चाँजोपाँजो मिलाइसकेँ ।’
‘ठीकै छ । तर, हिन्दुस्तानको पासपोर्ट लिएर गए ठाउँठाउँमा हाम्रा मिसन भएकाले तेन्जिङलाई सबै प्रकारको सुविधा उपलब्ध हुनेथियो…।’
जवाफमा विजयशमशेरले भने, ‘हाम्रो प्रतिनिधि अथवा मिसन नभएका ठाउँमा नेपाली पासपोर्ट लिई जाने व्यक्तिलाई त्यहाँ रहेका भारतीय मिसनबाट सहयोग हुँदै आएको छ । यही सहयोग तेन्जिङलाई गरे पुगिहाल्छ ।’
‘ठीक छ,’ केहीबेरको मौनता चिर्दै नेहरूले सोधे, ‘अनि तेन्जिङलाई नयाँ लुगा पनि चाहिएला नि । अत्यावश्यक लुगाफाटो र सामग्री यतैबाटै पठाइदिनुस् । बाँकी बेलायतमै किन्ने बन्दोबस्त म मिलाइदिन्छु । बेलायतमा रहुन्जेल तेन्जिङ भारतीय हाइकमिसनको पाहुना भएर बस्नेछन् ।’
विजयशमशेरले तेन्जिङका लागि एउटा कोट, एउटा पेन्ट, एउटा डिनर ज्याकेट, दुईवटा कमिज र एउटा ओभरकोट बनाउन सुचिकरलाई दूतावास बोलाए । तेन्जिङको तर्फबाट भिसाको फर्म भरेर डिप्लोम्याटिक पासपोर्टमा बेलायत र स्विट्जरल्यान्डको भिसा लगाइदिए ।
०००
केही बेरपछि तेन्जिङले विजयशमशेरछेउ पुगेर भने, ‘जहानसँग कुरा गरेँ । लाक्पा गएनन् भने हामी पनि नजाने भयौँ ।’ शमशेरले लाक्पालाई लैजान हुँदैन भनि सम्झाइबुझाइ गरे । तेन्जिङ मानेनन् । कुरा नेहरूसम्म पुग्यो । नेहरूले आफ्ना मान्छेलाई नेपाली दूतावासमा पठाएर तेन्जिङलाई सम्झाइबुझाई गर्न लगाए । सुरुमा उनले कसैको कुरा सुनेनन् । तर, राम्रोसँग सम्झाइबुझाई गरेपछि तयार भए ।
त्यसपछि उनले एकाएक अर्को सर्त तेर्साए । ‘नेपाली र हिन्दुस्तानी पासपोर्ट दुवै पाएँ भने लाक्पा नभए पनि हुन्छ,’ तेन्जिङले भने । तेन्जिङलाई यस्तो माग गर्न कसैले उकासेजस्तो देखिन्थ्यो । नत्र उनलाई दुइटा पासपोर्ट किन चाहियो ?
त्यहीँ रहेका विजयशमशेरले भनिहाले, ‘हाम्रो पासपोर्टले भइहाल्छ, दुइटा बोक्दैमा केही फाइदा हुँदैन ।’ तर, तेन्जिङले मानेनन् । भारतीय अधिकारीहरू तेन्जिङलाई ‘मायाको चिनो’का रूपमा भारतीय पासपोर्ट दिन पाउँदा ज्यादै खुसी भए ।
सबै कुरा मिल्यो भन्ठानेर भ्रमणको तयारीमा विजयशमशेर जुटेका वेला तेन्जिङ जहानलाई लिएर एकछिनपछि पुन: आइपुगे । ‘लाक्पालाई जान नदिने हो भने हामी पनि जाँदैनौँ,’ एकै स्वरमा दुवैले भने ।
‘अघिचाहिँ दुइटा पासपोर्ट भए पुग्छ भन्नुभयो, फेरि बोली फेर्नुभयो । यसरी छिनछिनमा कुरा फेर्दा मलाई अप्ठयारो पर्छ नि,’ विजयशमशेरले हल्का रिसाउँदै भने ।
‘जसरी भए पनि लाक्पाको बन्दोबस्त मिलाइदिनूस्, होइन भने हामी जाँदैनौँ,’ तेन्जिङदम्पती सम्झौता गर्ने मुडमा आएनन् । राजदूत विजयले टेलिफोनमार्फत नेहरूकहाँ तेन्जिङको नयाँ माग तत्काल पुर्‍याए ।
०००
त्यही दिन बेलुका नेहरूले तेन्जिङलाई आफ्नो निवासमा बोलाएका थिए । आफ्ना केही पुराना लुगा तेन्जिङलाई उपहारस्वरूप दिन चाहेका थिए, उनले । भारतीय प्रधानमन्त्रीको पहिरनमा तेन्जिङलाई युरोपमा उतार्न पाए उनी भारतीय हुन् भन्ने प्रोपोगन्डा फैलाउन सजिलो हुन्छ भन्ठानेर यस्तो गरिएको हुनसक्थ्यो । पुराना कपडा लिन नेहरूनिवास गएको मौकामा तेन्जिङले नेहरूसँग लाक्पालाई पनि आफूसँगै जान दिनुपर्ने माग राखेछन् । नेहरूले ‘हुन्छ’ भनेछन् । तेन्जिङ फुरुंग भए ।
अब त सबै झन्झट सकियो होला भन्नठानेका थिए, विजयशमशेरले । तर, केही बेरेपछि तेन्जिङ फेरि आए र अर्को माग तेर्साए ।
‘लाक्पालाई पनि मलाईजस्तै लुगा सिलाइदिनुपर्छ ।’
‘यस्तो गर्न कसरी मिल्छ र ? मिल्दैन,’ विजयशमशेर हल्का झर्किएझैँ गरे ।
‘त्यसो भए म बेलायत जान्नँ ।’
सबै कुरा मिलिसकेकाले लुगाजस्ता सानो कुरामा अल्झेर यत्रो ठूलो कार्यक्रम बिथोल्ने कुरा आउँदैनथ्यो । दिक्क मान्दै भए पनि विजयशमशेरले लाक्पाका लागि लुगा छेकाइदिए । तर, ओभरकोटको अर्डरचाहिँ दिएनन् । अन्यमा तेन्जिङले खोजेको सबै पूरा भयो । उनी जहान, छोराछोरी, लाक्पा र अरू ब्रिटिस पर्वतारोहीसँगै बेलायततिर लागे ।
०००
नेपालको परराष्ट्र मन्त्रालयलाई घटनाबारे रिपोर्ट गर्दै विजयशमशेरले लेखेका थिए, ‘तेन्जिङको नेसनालिटीको विषयमा यहाँको सेक्रेटरियट तहले पनि निजलाई हिन्दुस्तानी जनाउन बहुतै कोसिस गरेको थियो । तर, माथिका मानिसहरूको बहुत असल विचार भएकाले र महोदय (परराष्ट्रमन्त्री)को आशीर्वादले हाम्रै पासपोर्टमा सफर गराउन सफल भएकोमा बहुतै सन्तुष्ट मानेका छौँ । हुन त यस किसिमको कुरा गरी मनुष्यले प्रकृतिमाथि विजय प्राप्त गरेको महान् उपलक्ष्यलाई जातीय गौरव बनाएर संकुचित दृष्टिबाट हेर्नु राम्रो नभए पनि अरूले कुरा उठाइहाले । तानातानी भएपछि हामीले पनि आफ्नोतर्फ खिच्न खोज्नु स्वाभाविकै कुरा हो । जे भए पनि सबै कुरा राम्रोसँग सम्पन्न भयो ।’
विजयशमशेरले ‘सबै कुरा राम्रो भएको’ जाहेरी गरे पनि त्यसपछिका कुरा राम्रो हुन सकेन । सगरमाथा टेकेपछि तेन्जिङले नेपाली पासपोर्टमा भिसा लगाएर पहिलो विदेश यात्रा गरे पनि उताबाट फर्किएपछि सोझा उनलाई अनेक तिकडम गरेर भारतीय नागरिकता भिराइयो ।
सुजित मैनाली
sujitmainali@gmail.com

Text courtesy: Naya Patrika Daily
http://enayapatrika.com/mid-page/6816.html