Wednesday, April 30, 2014

चन्द्रशमशेरको सहयोगबाट ब्रिटेनलाई लाजमर्दो


राणाकालीन कूटनीतिबारे इतिहासविद् सौरभ


एकीकरणताका पृथ्वीनारायण शाहले अवलम्बन गरेको विदेशनीति राणाकालमा बदलिन पुग्यो । राणाशासनका प्रवर्तक जंगबहादुर राणाको उदयपछि नेपालको कूटनीतिले नयाँ धार समात्यो । राणाशासन अन्त्य नभइन्जेलसम्म जंगबहादुरकै नीतिको सेरोफेरोमा घुम्यो, नेपाली कूटनीति ।
अंग्रेजलाई रिझाएर राष्ट्रिय तथा व्यक्तिगत स्वार्थ सिद्धि गर्ने नीति राणाहरूको थियो । आर्थिक उन्नति, प्रविधि, वैज्ञानिक अनुसन्धानलगायत क्षेत्रलाई त्यतिवेलाको कूटनीतिले राम्ररी समेट्न सकेको थिएन । छिमेकी मुलुकले देशको सीमा नमिचिदेओस् र आफूलाई सत्ताबाट हटाउन क्रियाशील नभइदेओस् भन्ने राणाहरूको मुख्य चाहना थियो । यति हुँदाहुँदै पनि राष्ट्रिय स्वार्थ संवद्र्धन गर्ने थुप्रै काम यस अवधिमा भयो ।
त्यतिवेला परराष्ट्र मन्त्रालयलाई जैसी कोठा भनिन्थ्यो । अहिले पनि परराष्ट्र मन्त्रालयमा पुरानो कागजपत्र राख्ने भवनलाई जैसी कोठा भनिन्छ । विदेशस्थित कूटनीतिक नियोगमा राणाहरू नै हुने गर्थे । पढेलेखेका, अंग्रेजी जान्ने उनीहरू नै थिए । राणाहरू अरूलाई त्यति विश्वास गर्दैनथे ।
विदेशीमाझ नेपाल र नेपालीको हैसियत गिर्नुहुँदैन भन्नेमा राणाहरू असाध्यै सचेत थिए । यसै कारण विदेश जान खोज्नेलाई हतोत्साहित गर्थे । प्रजाहरू विदेशी भूमिमा रहँदा विदेशीले उनीहरूको गरिबी देख्लान् भन्ने चिन्ता राणाहरूलाई थियो । विदेश गएका वेला देशका राणा प्रधानमन्त्रीहरू सानसौकत धान्ने तरिकाले प्रस्तुत हुने गर्थे ।

०००

राणाकालमा नेपालले कलकत्ता र ल्हासामा कूटनीतिक नियोग स्थापना गरेको थियो । कलकत्तामा नेपाली प्रतिनिधि बस्ने परम्परा भने राणाकालअघिदेखि नै सुरु भएको हो । पृथ्वीनारायण शाहदेखि गीर्वाणयुद्ध शाहको पालासम्म सिन्धुलीका दीननाथ दाहाल कलकत्तामा वकिल (राजदूत) भएर बसेका थिए । सन् १९११ मा बंगाल विभाजनपछि नेपालले कलकत्तामा ‘बाइङ एजेन्सी’ खोल्यो । राणापरिवारलाई चाहिने सामग्री खरिद गर्नु यसको मुख्य काम थियो । ‘बाइङ एजेन्सी’ले थोरबहुत कूटनीतिक क्रियाकलाप पनि गर्ने गथ्र्यो ।
कलकत्तास्थित कन्सुलेट अफिसका पहिलो प्रतिनिधि दमनशमशेर हुन् । सन् १९२३ मा ब्रिटेन र नेपालबीच शान्ति तथा मैत्री सन्धि भएपछि बहादुरशमशेर ब्रिटिस इन्डियामा नेपालका तर्फबाट राजदूत बनेर खटिए । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि विजयशमशेरलाई राजदूत बनाएर भारत पठाइयो ।
कलकत्तामा जस्तै ल्हासामा पनि नेपाली वकिल रहने गथ्र्यो । चीनसँग चाहिँ नेपालको अत्यन्तै सीमित सम्पर्क थियो । हरेक पाँच वर्षमा नेपालले चिनियाँ बादशाहसमक्ष उपहार टक्राउन प्रतिनिधिमण्डल पठाउने गथ्र्यो । सन् १७९२ देखि १९०६ सम्ममा काठमाडौंबाट १५ वटा प्रतिनिधिमण्डल बेइजिङतर्फ हिँडे । त्यसमध्ये १२ प्रतिनिधि मात्र बेइजिङ पुग्न सफल भए ।
दलबल लिएर बेइजिङ लाग्ने गर्थे, प्रतिनिधिमण्डलका नेता । एकपटक, उनीहरूले उपहारस्वरूप सिंगै हात्ती लगेका थिए । प्रतिनिधिमण्डलमा हुक्के र छाते हुनु अनिवार्य थियो । प्रतिनिधिमण्डलका नेताले तान्ने हुक्का समात्नु र छाता ओढाउनु उनीहरूको काम हुन्थ्यो ।
नेपाली प्रतिनिधिमण्डलले ल्याएकोभन्दा बढी उपहार चिनियाँ बादशाहले दिने गर्थे । नेपाली राजा र प्रतिनिधमण्डलका सदस्यले बादशाहबाट आकर्षक उपहार पाउने गर्थे । उपहारकै लोभले त्यत्रो लामो बाटो छिचोल्न काडमाडौंमा तँछाडमछाड हुने गथ्र्यो ।
ब्रिटेनको आडमा जंगबहादुरले चीनको अपमान गरेका थिए । चिनियाँ बादशाहका लागि उपहार पठाउने टोलीलाई उनले अफिम बेच्न लगाए । नेपाली टोलीले बेइजिङमै अफिम बेचेको थाहा पाएपछि चीनले चित्त दुखाएको थियो । त्यतिवेला नेपालमा गाँजा, अफिम, चरेस प्रतिबन्धित थिएनन् ।

०००

जंगबहादुर राणाले विदेशमा नेपालको सान निकै राम्रोसँग धान्ने काम गरे । भ्रमणका क्रममा बेलायत पुगेपछि जंगबहादुरले महारानीलाई भेट्न जानुपर्ने भयो । उनलाई लिन साधारण सवारी साधन जंगबहादुर बस्ने होटलमा आइपुग्यो । तर, साधारण गाडी चढ्न उनी मानेनन् । सलामीसहित सानदार बग्गी पठाउनुपर्ने अडान उनले राखे । महारानीलगायत ब्रिटिस नेता उनलाई पर्खेर बसिरहेका थिए । दुई घन्टापछि उनले भनेबमोजिम बग्गी आयो र त्यसमा चढेर उनी गए । तोपको सलामी ग्रहण गरे ।
महँगो उपहार दिए, जंगबहादुरले महारानीलाई । नेपाल चिनाउने बोटबिरुवा, कलाकृतिलगायत थुप्रै सामग्री उनले बेलायत लगेका थिए । नेपालीलाई कसैले कम आँक्न नसकून् भन्ने उनको ध्येय थियो । जंगबहादुरले बेलायत जाँदा लिएर गएका उपहारको पूर्ण सूची सिनासले प्रकाशन गरेको छ ।
कोतपर्वले रक्तपात निम्त्यायो । तर, कोतपर्वमार्फत भारदारहरूलाई नपन्छाइएको भए भारदारहरूबीचको गुटबन्दी देश सिध्याउने दिशातर्फ उन्मुख हुन सक्ने आधार प्रशस्तै थिए । राणाहरूले एक सय चार वर्षसम्म देशको स्वतन्त्रता अक्षुण्ण राख्ने काम गरे । सुगौली सन्धिबाट गुमेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई पुन: नेपालमा मिलाउने काम जंगबहादुरबाट भयो । जंगेपिल्लर गाडेर उनले नेपालको सिमा ‘डिमार्केसन’ गरे ।
कोतपर्वअघि अंग्रेजले नेपालको आन्तरिक मामलामा निरन्तर हस्तक्षेप गर्न थालेको थियो । तर, जंगबहादुरले त्यस्तो हस्तक्षेप रोके । ब्रिटिस रेजिडेन्ट (राजदूत) ब्रायन हड्सनसँग चित्त नबुझेपछि उनले ब्रिटेनसँग आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउन आग्रह गरे । उनको ठाउँमा एडवार्ड गार्डनर आए । विदेशी दूतलाई मनपरी गर्न दिएनन्, जंगबहादुर र उनका उत्तराधिकारीले ।

०००

सन् १८५७ मा भारतमा भएको सैन्य–विद्रोह दबाउन जंगबहादुरले नेपाली फौज परिचालन गरेका थिए । त्यतिवेला विद्रोह दबाउन ब्रिटिसलाई हैदरावादका निजाम सालार्जङ, बरौदाका दिनकर राव र नेपालका जंगबहादुरले विशेष सहयोग गरेका थिए भन्नेमा अधिकांश इतिहासकारहरूको एकमत छ । यद्यपि, सैन्य–विद्रोहबारे लेखिएको ‘द लास्ट मुगल’ किताबमा जंगबहादुरको योगदान त के, नाम मात्र पनि उल्लेख छैन । जंगबहादुरका छोरा पद्मजंग राणाको ‘लाइफ अफ जंगबहादुर’ किताबमा भने जंगबहादुरले ‘स्ट्राटेजिकल्ली’ लखनउ कब्जामा लिई विद्रोह शमन गरेको उल्लेख छ ।
विद्रोह दमन गर्न जानुअघि जंगबहादुरले ब्रिटिससँग ‘हामी विद्रोह दमन गर्छौं, तर दमनपछि लखनउमा लुट मच्चाउन दिनुपर्छ’ भन्ने आशयको सहमति गरेका थिए । नभन्दै विद्रोह दमनपछि जंगबहादुरले लखनउमा लुट मच्चाए र हीराजवाहरातको राश नेपाल भित्र्याए ।
०००
बेलायती राजा जर्ज पाँचौँ भारत आएका थिए । राजाको आगमनको उपलक्ष्यमा भारतमा यस क्षेत्रका राजा तथा राजप्रतिनिधिको सम्मेलन आयोजना गरियो । नेपालबाट चन्द्रशमशेरलाई आमन्त्रण गरियो । सम्मेलनमा पुग्दा उनलाई भारतीय राजारजौटाको पंक्तिमा बस्न आग्रह गरियो । तर, उनले मानेनन् । स्वतन्त्र मुलुकका प्रतिनिधिहरूको ठाउँमा बस्न पाउनुपर्ने अडानबाट उनी टसमस भएनन् । अन्त्यमा स्वतन्त्र मुलुकको राजप्रतिनिधिको हैसियतले उनले समारोहमा उपस्थिति जनाए र ३१ तोपको सलामी लिइछाडे ।
प्रथम विश्वयुद्धमा चन्द्रशमशेरले ब्रिटेनलाई ज्यादै ठूलो सहयोग गरे । सीमित स्रोत हुँदाहुँदै पनि नेपालले गरेको भव्य सहयोगले ब्रिटेनलाई लाजमर्दो भयो । नेपालले ब्रिटेनलाई फौज, रसदपानी, सुन, चाँदी, चिया आदिले टन्नै सहयोग गर्‍यो ।
चन्द्रशमशेरको सहयोगको बदलामा ब्रिटिसले नेपाललाई पूर्ण सार्वभौम मुलुकका रूपमा स्वीकार गर्‍यो । सन् १९२३ मा नेपाल र ब्रिटिस इन्डियाबीच शान्ति तथा मैत्री सन्धि भएसँगै नेपाल विश्व मानचित्रमा पूर्ण सार्वभौम मुलुक बन्न पुग्यो । त्यही मितिदेखि ब्रिटिसले नेपाली राजालाई ‘हिज मेजेस्ट्री’ र राणा प्रधानमन्त्रीलाई ‘हिज आइनेस’ भनेर सम्बोधन गर्न थाले । पृथ्वीनारायण शाहपछि नेपालको कूटनीतिक इतिहासमा तारिफयोग्य व्यक्ति चन्द्रशमशेर हुन् । चन्द्रशमशेरपछि मात्र जंगबहादुर राणा आउँछन् ।

०००

जंगबहादुरको मृत्युपछि रणोद्दीपसिंह राणा प्रधानमन्त्री बनँ । उनले कूटनीतिक क्षेत्रमा उल्लेख्य केही गरेनन् । एउटा घटनाचाहिँ रोचक छ । उनको पालामा पनि ब्रिटिसले नेपाली युवालाई आफ्नो सेनामा भर्ना गराउन खोज्यो । यसका लागि रणोद्दीपसिंहसँग आग्रह गरियो । उनले ‘नाइँ’ भन्न सकेनन् । तर, लुला, लंगडा, काना र शारीरिक रूपमा अशक्त व्यक्तिलाई ब्रिटिस फौजमा भर्ना हुन पठाएका थिए । भर्ना हुन आएका युवाको अवस्था देखेर ब्रिटिस अधिकारी छक्क परेका थिए ।
सुगौली सन्धिपछि ब्रिटेनले नेपाली युवालाई आफ्नो सेनामा भर्ना गर्ने अधिकार पाएको थियो । राणाहरू यसमा खुसी थिएनन् । जंगबहादुरले पनि ब्रिटिसले थाहा नपाउने गरी नेपाली युवालाई ब्रिटिस सेनामा भर्ना हुनबाट रोक्न खोजेका थिए ।
नेपाल र सिखहरूको सैन्य सामथ्र्य बढ्न नपाओस् भन्नेमा ब्रिटिस सचेत थिए । किनकि, नेपाल र पन्जाब दुवैलाई ब्रिटिसले तीन टुक्रामा विभाजन गरिदिएको थियो । यी दुई जातिबाट बढीभन्दा बढी युवकलाई आफ्नो सेनामा भर्ना गराएर ब्रिटिसले यि दुई जातिको सैन्य आधार कमजोर बनाइराख्न चाहेको थियो । नेपाली र सिखको सैन्य सामथ्र्य बढे अप्ठेरोमा पर्न सकिने ब्रिटेनको आँकलन थियो ।
वीरशमशेर, देवशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर, मोहनशमशेर आदिले खासै महत्त्वपूर्ण काम गर्न सकेनन् । मुलुकको सार्वभौमिकता रक्षा गर्न मोहनशमशेरले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा हस्तक्षर गरेको कतिपयले बताउने गरेका छन् । यद्यपि, उनले राणाशाही जोगाउन सकिन्छ कि भनेर भर्खरै स्वतन्त्र भएको भारतसँग सन्धि गरेका थिए भन्ने प्रस्ट छ ।

०००

नेपालले विदेशी सहयोग स्वीकार गर्न थालेको वि.सं २०११ पछि हुनुपर्छ । विदेशी सहयोग लिनुलाई राणाहरू अपमान ठान्ने गर्थे । ९० सालको भुइँचालो जाँदासमेत जुद्धशमशेरले विदेशी सहयोग लिन मानेनन् । भुइँचालोबाट भत्किएका घर बनाउन राज्यले ऋण दिने व्यवस्था उनले मिलाए । पछि ऋण मिनाहा गरिदिए । नेपालको प्रतिष्ठाको खुब ख्याल गर्थे, राणाहरू ।
चीनको तियाङसान पर्वतमा ठूलो भुइँचालो जाँदा नेपालमा जस्तै त्यहाँ पनि ठूलै तहसनहस भएको थियो । त्यतिवेला चीनले पनि विदेशी सहयोग लिन मानेको थिएन । बरु उसले राष्ट्रिय ढुकुटीबाट ७५ करोड डलरको सुन लन्डनमा बिक्री गरेर पैसा जुटाएको थियो ।

०००

विदेशबाट विशेषज्ञ ल्याएर प्राविधिक स्तरोन्नति गर्ने कामसमेत राणाहरूले गरेका थिए । वीरशमशेरका पालामा भारतबाट राजकृष्ण कर्माकरलाई काठमाडौं ल्याएर जेनेटर फिट गर्न लगाइएको थियो । सन् १९०१ मा इकाइ कावागुची नाम गरेका जापानी नेपाल आएका थिए । उनीसँगको छलफलपछि आठजना नेपाली विद्यार्थीलाई विभिन्न प्राविधिक विषय पढ्न जापान पठाइएको थियो । ती विद्यार्थीले आर्सनल, इन्जिनियरिङलगायत प्राविधिक विषय पढेर आए ।
राणाकालमा दीर्घकालसम्म टिक्ने स्मारक बनेका छन् । राणाहरूका भवन अहिले पनि उस्तै भव्य छन् । त्यतिवेला बनेको फर्पिङ पावर हाउसलाई सञ्चालनमा ल्याउने हो भने अहिले पनि विद्युत् उत्पादन गर्न सकिन्छ । राणाकालमा ‘फिट’ गरिएको सुन्दरीजलको खानेपानी पाइपले अझै काम गरिरहेको छ । वीर पुस्तकालय राष्ट्रिय अभिलेखालयका रूपमा अहिले पनि अस्तित्वमा छ । दरबार हाइस्कुल र त्रिचन्द्र कलेजका भवन अहिले पनि भव्य छन् र त्यहाँ अझै पठनपाठन हुन्छ । राणाकालताका पटनामा ‘अलैँची कोठी’ खोलेर नेपालले अलैँची व्यापार गर्ने गथ्र्यो । नेपालमा उत्पादित खुर्सानी भारतीय व्यापारीमार्फत दक्षिण अफ्रिकी बजारसम्म पुग्ने गथ्र्याे ।

०००

चन्द्रशमशेरको शासनअघि नेपाल आएका एक अंग्रेजले नेपाली शस्त्रागार नियालेपछि भनेका थिए, ‘संसारमा बनिरहेका सबैखाले अत्याधुनिक हतियार नेपालमा पनि बनिरहेका रहेछन् ।’ राणाकालताका सैन्यसामग्री निर्माणमा नेपाल ‘अप्डेटेड’ थियो । यसलाई निरन्तरता दिन सकेको भए र स्रोत ‘म्यानेज’ गर्न सकेको भए आज हामी शक्तिराष्ट्रमा दरिने थियौँ । विदेशबाट हतियार ल्याउने र खोलखाल गरेर त्यही डिजाइनको हतियार बनाउने गरिन्थ्यो, त्यतिवेला ।
जंगबहादुरका पालामा नेपालले तिब्बतसँग युद्ध गरेको थियो । चीनको झुंगासम्म नेपाल फौज पुगेको थियो । तिब्बतले नेपाललाई बर्सेनी निश्चित रकम बुझाउने सर्तमा युद्ध रोकिएको थियो ।
तिब्बतले पैसा बुझाउन छोडेपछि चन्द्रशमशेरले तिब्बतमाथि हमला गर्ने तयारी गरेका थिए । यसका लागि उनले दुई करोड रुपैयाँ छुट्याएका थिए । तर, उनको मृत्युपछि प्रधानमन्त्री बन्नेले दुई करोड रूपैयाँ हजम गर्न युद्ध नगर्ने माहोल बनाए ।
राणाकालमा तिब्बतसँग जुनसुकै वेला युद्ध गर्नुपर्छ भनेर सैनिकलाई तत्पर राखिन्थ्यो । युद्धका लागि आवश्यक पर्ने रसदपानीको जोहो सधैँ गरिन्थ्यो । ००७ सम्म खाद्य संस्थानमा युद्धका लागि आवश्यक पर्ने कोदो ‘स्टक’ राख्ने गरिन्थ्यो । कोदो खाँदा रुघा नलाग्ने भएकाले तिब्बतसँग युद्ध भएका वेला फौजलाई कोदो ख्वाउने गरिन्थ्यो ।

प्रस्तुति: सुजित मैनाली
तस्बिर: ज्ञानेन्द्र कार्की

(नयाँ पत्रिका दैनिकमा अप्रिल ३०, २०१४ मा प्रकाशित)