Saturday, June 23, 2012

माओवादी फुटको बाह्य पाटो

सुजित मैनाली अनेक रहस्य र आशंकाको पोको बनेको एकीकृत नेकपा माओवादीभित्रको अन्तद्र्वन्द्व मोहन वैद्य पक्षधरले छुट्टै पार्टी घोषणा गरेपछि छरपस्ट भएको छ । माओवादीभित्रको अन्तरकलह सत्ता कब्जा गर्ने संस्थागत अभीष्टद्वारा प्रेरित नाटक भएको दाबी गर्ने तथाकथित बुद्धिजीवीहरूको मुखमा यो फुटले बुझो लगाइदिएको छ । नयाँ पार्टी घोषणा गर्ने वैद्य पक्षको कदमले राष्ट्रिय राजनीतिमा हलचल त ल्याएको छ नै, यसको बाछिटाबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पनि अछुतो रहन नसक्ने अवस्था सिर्जना भएको छ । पुष्पकमल दाहालका विश्वासपात्र हरिबोल गजुरेलले राजावादी र रिभोल्युसनरी इन्टरनेसनल मुभमेन्ट (रिम) को उक्साहटमा वैद्य समूहले पार्टी फुटाएको आरोप लगाएर धेरै कुरा प्रस्ट्याउने जमर्को गरेका छन् । राजावादीको सामन्ती चरित्र र अविकसित मुलुकमा रिमले फैलाउने जातीय तथा वर्गीय अतिवादजस्ता विपरीत प्रवृत्तिलाई वैद्य पक्षले उपयोग गरी पार्टी फुटाएको गजुरेलको भनाइ रोचक छ । तर, फुटको पूर्वसन्ध्यामा वैद्य समूहमा आर्थिक विभाग सम्हाल्ने जिम्मेवारी पाएका प्रभावशाली नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको चीन भ्रमणको आलोकमा गजुरेलको भनाइ नियाल्ने हो भने उनको अभिव्यक्तिलाई राजनीतिक पूर्वाग्रही अथवा विकासशील अन्तर्राष्ट्रिय घटनाक्रममाथिको उनको अल्पज्ञानको उपज मान्न सकिन्छ । डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई भारत–अमेरिका गठजोडको असीम कृपा मिलेकाले दाहाल–भट्टराई क्याम्पले यही एक्सिसको समर्थन जुटाउन प्रयत्न गर्ने निश्चित छ । इन्डो–युएस एक्सिसको विश्वास जित्नु वैद्य समूहका लागि राजनीतिक र नैतिक दृष्टिकोणले असम्भव हुने भएकाले अन्तर्राष्ट्रिय सहयोग जुटाउन यो पक्षले अन्तै आँखा डुलाउनुपर्ने भएको छ । गजुरेलले फुटका निम्ति रिमलाई जिम्मेवार ठहराएको र पार्टी फुटेको घोषणा हुनुअघि नेत्रविक्रम चन्दले चीन भ्रमण गरेको घटनाले वैद्य समूहले अन्तर्राष्ट्रिय सम्बन्धको तार कहाँसम्म विस्तार गर्न खोजेको रहेछ भन्ने संकेत दिएको छ । वैद्य समूहले रिममार्फत पश्चिमी जगत्को र सिधै चीनको समर्थन जुटाएर इन्डो–युएस एक्सिसलाई चुनौती दिन खोजेको छ । नेपालमा शान्तिप्रक्रिया आरम्भ भएपछि शनै:शनै: मित्र गुमाउँदै गएको चीनले वैद्य समूहलाई चीनविरोधी गतिविधिविरुद्ध ‘डिटरेन्स’का रूपमा प्रयोग गर्न खोजेको छ । शान्तिप्रक्रिया सुरु भएपछि चीनले नेपालमा आफूलाई कति असुरक्षित महसुस गरेको रहेछ भन्ने कुरा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले पाँच घन्टाका लागि मात्रै गरेको नेपाल भ्रमणबाट छर्लंग भएको छ । जबकि चिनियाँ प्रधानमन्त्री देङ स्याओपिङले काठमाडौंको खुलामञ्चबाट जनसभालाई सम्बोधन गरेको केही दशक मात्रै बितेको छ । संविधानसभा गठनपछि मधेसलाई प्रतिनिधित्व गर्ने तात्कालीन सभासदहरूको एउटा समूहलाई भारतको हिमाञ्चल प्रदेशस्थित धर्माशालामा दलाई लामाले ‘दर्शन–भेट बक्सेको’ दाहालका अनन्य विश्वासपात्रहरू गोपाल किराती, आङ्दावा शेर्पालगायतले तिब्बतविरोधी अभियन्ताहरूलाई खुलेआम सघाएको, युरापेली महासंघसँग आबद्ध राष्ट्र फ्रान्सका एक मन्त्रीले तिब्बती शरणार्थीको भेलामा उपस्थीत भएर सहयोगको वचन दिएको लगायतका घटनाले चीनको बेचैनी बढाएको छ । तर, बेचैनी घटाउने उपाय उसले देखेको छैन । चीनले नेपालको स्वाधीनता पक्षधरहरूको असंगठित जमातलाई आºनो क्षमता ठान्दै आएकामा शान्तिप्रक्रियाको आरम्भपछि राजतन्त्रवादी, प्रतिक्रियावादी, एकात्मक सामन्ती व्यवस्थाका पक्षपातीलगायतका लाञ्छनाबाट तर्सिएर उक्त समूह छिन्नभिन्न भइसकेको छ । यस्तोमा चीनले छिन्नभिन्न अवस्थामा रहेका आफूप्रति सद्भाव राख्नेहरूलाई वैद्य समूहमार्फत गोलबन्द गराउन खोजेको छ । नवगठित माओवादीलाई सहयोग गर्ने आश्वासन चीनले दिएकै हुनुपर्छ । वैद्य पक्षसँग राजनीतिक लेनदेनप्रति चीन अनिच्छुक रहको भए फुटको पूर्वसन्ध्यामा फुटवादी नेतालाई आतिथ्यता प्रदान गर्ने कूटनीतिक बेवकुफी चीनले गर्दैनथ्यो । पार्टी फुटाउनुमा राजावादीहरूको हात छ भन्ने गजुरेलको भनाइ यहाँनेर अर्थपूर्ण देखिन्छ । तर, रिमलाई पनि फुटका निम्ति जिम्मेवार ठहराउँदै चीनप्रति उनले साँधेको मौनताले भने उनको अभिव्यक्तिलाई एकैपटक खोक्रो र रोचक बनाएको छ । रिमका प्रमुख बब अवाकिन उग्रवामपन्थी कुरा गर्छन् । जबकि अविकसित मुलुकमा जातीय तथा सम्प्रदायिक उग्रवादको बीउ छरेर विश्व पुँजीवाद र अमेरिकी साम्राज्यवादबाट नि:सृत उत्तरआधुनिक ग्रान्ड डिजाइनलाई सहयोग गर्नु उनको ध्येय हो । बब अवाकिन सिआइएको एजेन्ट भएको प्रसंग नेपालसहित विश्वभरका कम्युनिस्ट पार्टीभित्र चर्चित हुनु आफैँमा अर्थपूर्ण छ । कम्युनिस्ट आवरणमा तेस्रो विश्व प्रवेश गरी ती क्षेत्रमा पुँजीवादअनुकूलको वातावरण निर्माण गर्न अमेरिकाले ‘रिम’लगायतका तथाकथित वामपन्थी संघसंस्थाको सहयोग लिँदै आएको छ । त्यसैल रिमको समर्थन वैद्य समूहलाई प्राप्त हुनु भनेको प्रकारान्तरमा वैद्य समूहले अमेरिकी सहयोग जुटाउनु हो । भारतसँग मिलेर अमेरिकाले दाहाल–भट्टराई क्याम्पलाई गरेको प्रत्यक्ष सहयोग र चीनसँग मिलेर उसले वैद्य समूहलाई पुर्‍याएको छद्म सहानुभूतिलाई कूटनीतिको बहुरूपीपनाको अब्बल उदाहरण मान्न सकिन्छ । माओवादीभित्रको फुटपछि उत्पन्न परिस्थितिमा अमेरिकाले हासिल गर्न खाजेका उद्देश्य प्रस्ट छन् । ऊ चीनमार्फत वैद्य समूहसँग मिलेर नेपालमा भारतीय प्रभाव कम गर्न चाहन्छ । संविधानसभा विघटन गर्नु वैद्य समूहको लामो आकांक्षा रहेको र सभा विघटन गराउन चीनले पर्दापछाडिबाट खेलेको दबाबमूलक कूटनीतिक भूमिका स्मरण गर्नु यहाँ सान्दर्भिक हुन्छ । नेपालको राजनीति र समाजमा भारतको प्रभावलाई न्युनीकरण नगरी आºनो प्रभाव विस्तार गर्न सकिँदैन भन्नेमा चीन र अमेरिका दुवै विश्वस्त छन् । वैद्य समूहले अमेरिका र चीनबीचको यही मतैक्यलाई उपयोग गर्न खोजेको छ । केही दिनअघि भारतका पूर्वकूटनीतिज्ञ शिवशंकर मुखर्जीले नेपालमा ‘नोर्डिक राष्ट्र’हरूको भूमिकाप्रति व्यक्त गरेको रोषले पश्चिमीजगत् र भारतबीचको मतान्तरलाई थप प्रस्ट्याएको छ । विश्व रंगमञ्चमा चीनको बढ्दो राजनीतिक, फौजी तथा संस्कृतिक सामथ्र्यलाई निस्तेज गर्नु अमेरिकाको बृहत्तर स्वार्थ हो । यसका लागि उसलाई भारतीय सहयोग हपरिहार्य छ । भारतसँग मिलेर चीनलाई घेराबन्दीमा पार्ने रणनीतिक जालो नेपालमा पनि फिजाउनु इन्डो–युएस एक्सिसको मुख्य ध्येय हो । चीनसँगको साझेदारीको तुलनामा भारतसँगको साझेदारीबाट बृहत्तर लक्ष साँध्न सकिने भएकाले ‘इन्डो–युएस एक्सिस’प्रति अमरिका बढी समर्पित हुने र यो एक्सिसको आशीर्वादबाट दाहाल–भट्टराई क्याम्प लाभान्वित हुने प्रस्ट छ । फुटेर जाने पार्टी माउ पार्टीको तुलनामा निम्छरो बन्ने इतिहास नेपालमा विद्यमान रहेकाले माओवादी राजनीतिमा दाहाल–भट्टराई क्याम्प हाबी हुने देखिन्छ । तर, वैद्य समूहमा जस्तो विचारनिष्ठता र चट्टानी एकता दाहाल–भट्टराई क्याम्पमा देखिँदैन । वैद्य समूहको फुट एकीकृत माओवादी पार्टीभित्र चोइटिने शृंखलाको आरम्भ मात्र हो । निकट भविष्यमा भट्टराई र नारायणकाजीबाहेक प्रभु शाह, गोपाल किरातीजस्ता जातीय तथा क्षेत्रीय नेताहरू चोइटिने निश्चितप्राय: छ । त्यसैले बलियो अन्तराष्ट्रिय समर्थनका बाबजुद पनि दाहाल–भट्टराई क्याम्प कमजोर हुने र प्रकारान्तरमा वैद्य समूह बलियो बन्दै जाने राजनीतिक परिवेश निर्माण हुँदैछ । बलियो राजनीतिक शक्तिलाई प्रभावमा राख्नु अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको स्वभाव हो । त्यसैले चीन र रिमले मात्र नभई बाँकी शक्तिकेन्द्रले पनि वैद्य समूहलाई ‘आºनो’ बनाउने प्रयास आरम्भ गरिसकेको दाबी गर्न सकिन्छ साभार: सौर्य दैनिक http://www.souryadaily.com/2012/06/22440.html