Tuesday, December 28, 2010

जियाबाओ भ्रमणको सन्देश



सुजित मैनाली
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो बहुप्रतिक्षित भारत भ्रमण सफलतापूर्वक टुंग्याएपछि कुटनीतिक सन्तुलनका लागि चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले पनि भारत भ्रमण गरे । क्षेत्रीय राजनीतिलाई दिशानिर्देश गर्नसक्ने क्षमताका दुवै भ्रमणप्रति नेपाली साचारमाध्यमले चासो देखाए पनि ओबामा भ्रमणले नेपाली साचारमाध्यममा जति प्रथमिकता पायॊ, त्यति जियाबाओ भ्रमणले पाउन सकेन । तथापि नेपाल मामिलालाई प्रभावित गर्नसक्ने घटनाक्रम जियाबाओ भ्रमणका क्रममा विकसित भएको थियो ।

शीतयुद्धमा सोभियत खेमाको पतनपछि भारत र अमेरिकाबीच सम्बन्ध सुधारको थालनी भएको थियो । शीतयुद्ध चरम अवस्थामा पुगेका बेला असंलग्न आन्दोलनको संस्थापक राष्ट्रसमेत रहेको भारतले सन् १९७१ मा सोभियत संघसँग मैत्री सन्धि गरी अमेरिकाविरोधी गठबन्धनमा आफूलाई सामेल गराएको थियो । तर, सोभियत संघको पतनपछि उपयोगिताको सिद्धान्तबमोजिम अमेरिकाले पाकिस्तानसँगको आफ्नो सम्बन्धलाई लत्याउँदै भारतसँग उच्चस्तरीय मित्रताको हात बढाएको थियो । आणविक अप्रसार सन्धिको उल्लंघनजस्तो अमेरिकाका लागि अपि्रय प्रतित हुने घटनामा भारत मुछिएको भए पनि क्लिन्टन प्रशासनको पालादेखि भारतसँग रणनीतिक साझेदारीको प्रयास अमेरिकाले थाल्यो । भारतीय जनता पार्टीको पालामा थालिएको क्लिन्टन प्रशासनको प्रयास कांग्रेस आईको पालामा बुस प्रशासनले पूरा गर् यो, भारतसँग परमाणु सम्झौता गरेर ।

यसबीच अमेरिकाको दक्षिण एसिया नीतिमा व्यापक परिमार्जन गर्न बाध्य गराउने गरी सेप्टेम्बर ११ को आतंकवादी हमला भए पनि वासिङटनले नयाँ दिल्लीलाई खुशी पार्ने दिशामा कुनै कसर बाँकी राखेको छैन । हाल जारी आतंकवादविरोधी युद्धमा पाकिस्तानलाई साथमा लिएको भए पनि दीर्घकालका लागि अमेरिकाले भारतसँगको आफ्नो सम्बन्धलाई प्राथमिकतामा राखेको छ । यसैको जनाउ थियो, भारत भ्रमणका क्रममा ओबामाले नयाँ दिल्लीलाई 'उदाइसकेको शक्ति'का रुपमा दिएको मान्यता, सुरक्षा परिषद् स्थायी सदस्यराष्ट्रमा आबद्ध हुने उसको महत्वाकांक्षाको समर्थन र मुम्बई आतंकवादी हमलाको विरोध ।

ओबामा भ्रमणलाई भारतले जसरी प्रसन्नताका साथ समर्थन गर् यो, जियाबाओ भ्रमणमा यो हुन सकेन । बरु जियाबाओ भ्रमणकै क्रममा चीन र भारतबीच भित्रभित्रै भुसको आगोझैं सल्किरहेको गम्भीर असमझदारी सतहमा आउन पुग्यो । जियाबाओको भारत भ्रमणमा उठेका प्रश्नहरुले चीन-भारत सम्बन्धका दुईवटा मुख्य आयामलाई उजागर गरिदिएको छ । भ्रमणलाई गहिरिएर हेर्दा निम्न निष्कर्षमा पुग्न सकिन्छ- चीन-भारतबीच अब आर्थिक सम्बन्ध सुमधुर हुँदैछ तथापि यसले उनीहरुबीच विकसित राजनीतिक गतिरोधलाई भने जटिल हुनबाट रोक्ने छैन ।

आर्थिक पाटो
भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो । अमेरिकालाई उछिन्दै वार्षिक ६० अर्ब अमेरिकी डलरबराबरको कारोबार गरेर भारतको मुख्य व्यापारिक साझेदार हुन चीन सफल भएको छ । जियाबाओ भ्रमणका क्रममा चीन-भारत आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने दिशामा महत्वपूर्ण निर्णय भयो । सन् २०१५ सम्ममा द्विपक्षीय व्यापारलाई बढाएर एक अर्ब अमेरिकी डलर पुर् याउन दुवै राष्ट्र सहमत भए । त्यसैगरी चीनले भारतसँग १६ अर्ब अमेरिकी डलरको व्यापारिक करार गर् यो । जबकी ओबामा भ्रमणका क्रममा भारत र अमेरिकाबीच १० अर्ब अमेरिकी डलरको व्यापारिक करार मात्र भएको थियो ।

राजनीतिक असमझदारी
मुलुकको सुरक्षा र कुटनीतिसँग जोडिएको राजनीतिक पाटोलाई आर्थिक सम्बन्धभन्दा विशिष्ठ र महत्वपुर्ण ठान्ने हो भने जियाबाओ भ्रमणले दुई मुलुकबीच आशाभन्दा धेरै तिक्तता बढाउने काम गरेको छ । दुई देशबीच बढेको सीमा विवाद, तिब्बत मामिलामा चीनको बढ्दो चासो, काश्मीर मामिलामा आफ्नो नीति परिवर्तन गर्न चीनले देखाएको छाँटकाँट, भारत-अमेरिका साझेदारी आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्र रहेको बेइजिङको बुझाइ र दक्षिण एसियाली राष्ट्रहरुसँग चीनले बढाएको हिमचिम आफूलाई एक्ल्याउनेतर्फ लक्षित रहेको नयाँ दिल्लीको ठहरजस्ता विषयले दुवै मुलुकको मिडिया तातेको जटिल अवस्थामा सम्पन्न जियाबाओको भारत भ्रमणले दुई मुलुकबीच बढेको आपसी अविश्वासलाई चिर्न सकेको छैन । बरु यसले स्थीतिलाई थप सम्बेदनशील बनाएको छ ।

भारतीय प्रधानमन्त्री मनमोहन िसंहले भारत प्रशासित काश्मीरका जनताका लागि चीनले अलग्गै भिसाको व्यवस्था गरेको घटनाप्रति आपत्ति जनाएका थिए । जवाफमा जियाबाओबाट समस्या समाधानका लागि चित्तबुझ्दो दृढता नआएको भन्दै भारतले चीनसँग कुटनीतिक पैठेजोरी खेल्यो । एक चीन नीतिलाई सम्मान गर्न लिखित प्रतिबद्धता जनाएयता भारतले पहिलोपटक चीनको सबैभन्दा सम्बेदनशील ठाउँमा प्रहार गर् यो । काश्मीर विषयलाई विवादमा ल्याउन खोजेर चीनले 'एक भारत नीति'प्रति खेलवाड गर्न खोजेको भन्दै भारतले जियाबाओ भ्रमणको अन्त्यमा जारी हुने संयुक्त वक्तव्यमा 'भारत एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर् याउँछ' भन्ने वाक्यांश राख्न अस्वीकार गर् यो । त्यस्तै उसले पाकिस्तान प्रशासित काश्मीरमा चीनले भौतिक पूर्वाधार निर्माण तथा सामरिक गतिविधि बढाएको भन्दै यसप्रति प्रश्नचिह्न उठायो ।

भ्रमणका क्रममा चीनले पनि काश्मिर मुद्दामा थालेको पृथक व्यवहार परिवर्तन गर्ने इच्छा देखाएन । भरतको पटक-पटकको आग्रहका बाबजुत चीनले मुम्बई हमलामा पाकिस्तानको भूमिकालाई जोडेर वक्तव्य निकाल्न अस्वीकार गर् यो । भारत भ्रमणपछि ओबामाले नयाँ दिल्लीको इच्छाअनुरुप पाकिस्तानलाई अर्को गन्तव्य बनाएनन् । तर जियाबाओले भारतलगत्तै पाकिस्तान भ्रमण गरी त्यहाँको निजी क्षेत्रसँग १५ अर्ब अमेरिकी डलरको करारमात्र गरेनन् पाकिस्तान सरकारसँग २० अर्ब डलरको अन्य सम्झौतासमेत गरे ।

चीन र पाकिस्तानबीच धेरै अघिदेखि मैत्रिपूर्ण सम्बन्ध रहिआएको छ । शीतयुद्धको बेला पाकिस्तानले अमेरिकाको क्षेत्रीय गोटीको रुपमा व्यवहार गरेको भए पनि चीनसँग उसले हार्दिक सम्बन्ध कायम राखेको थियो । त्यति मात्र होइन दक्षिण एसियामा सोभियत संघ र भारतको रणनीतिक साझेदारीबाट सुरक्षित हुन पाकिस्तानले चीनलाई अमेरिकाको नजिक ल्याउने दिशामा कुटनीतिक सहजकर्ताको भूमिकासमेत निर्वाह गरेको थियो ।

शीतयुद्धको समाप्तीपछि अमेरिकाले पाकिस्तानलाई दिसा पुछेको डल्लोसरी मिल्काए पनि चीनले पाकिस्तानसँग सहयोगको हात कहिल्यै पछि हटाएन । बरु द्विपक्षीय सम्बन्धलाई थप सशक्त बनाउने दिशामा उसले आफूलाई समर्पित गर् यो । यस कारणले गर्दा विश्लेषकहरु चीन-पाकिस्तान सम्बन्ध विशिष्ठ छ भन्छन् । विख्यात राजनीतिशास्त्री स्टेफिन कोहन चीन-पाकिस्तान सम्बन्धलाई अमेरिका-इजरायल सम्बन्धसँग तुलना गर्छन् । उनको भनाइलाई आधार पुर् याउने भनाइ र व्यवहार चीनबाट हुने गरेको छ । चीनले पटक-पटक पाकिस्तानसँग आफ्नो सम्बन्ध 'सागरभन्दा गहिरो र हिमालयभन्दा अग्लॊ' रहेको बताउँदै आएको छ । आर्थिक र बजारको दृष्टिकोणले भारतभन्दा निकै सानो रहेको पाकिस्तासँग यति ठूलो व्यापारिक तथा अन्य करार गरेर पाकिस्तानसँग आफ्नो सम्बन्ध भारतसँगको भन्दा विशिष्ठ छ भन्ने चीनले पुनः एकपटक प्रष्ट पारेको छ ।

सन्दर्भ नेपाल
नेपालका सफल कुटनीतिज्ञ ऋषिकेश साहले भारत र चीनले एकआपसमा अंकमाल वा झम्टाझम्टी गरे पनि यसले नेपाललाई अफ्ट्यारो पार्ने बताएका थिए । उनको भनाइको सान्दर्भिकता अझै हराइसकेको छैन । एक चीन नीतिप्रतिको प्रतिबद्धता अर्थात् तिब्बत र ताइवानलाई चीन अधिनस्त भू-भागका रुपमा स्वीकार गर्न भारतले यसपटक अस्वीकार गरेको घटनाले सुधारको दिशा नसमाते यसले नेपालाई पनि क्षेत्रीय राजनीतिको खिचातानीमा धकेल्ने निश्चित छ । तिब्बत मामिलामा चीन कठोर बन्दै गएको समयमा नेपालले चीनको सुरक्षा सम्बेदनशीलतामाथि प्रहार हुने घटनालाई प्रोत्साहन गर्ने कुरै छाडौं, सहन गर्न सक्ने अवस्था पनि छैन । नेबेल पुरस्कार समारोह बहिष्कार गरेर नेपालले पश्चिमाविरोधी चिनियाँ गठबन्धनमा हालै आफूलाई उभ्याइसकेको छ । यस्तो अवस्थामा नेपालमा सबैभन्दा प्रभावशाली मानिएको भारतले अमेरिका र युरोपेली युनियनसँगको मिलामतोमा नेपालमार्फत तिब्बत मामिलामा खेल्न खोज्यो भने कुटनीतिक सन्तुलन कायम गर्न नेपाललाई गाह्रो पर्नसक्छ । चीनसँग सम्बन्ध जतिसुकै बिगि्रए पनि भारत आफ्नै भूमिमार्फत स्वतन्त्र तिब्बत गतिविधिमा संलग्न हुने शाहस जुटाउन सक्दैन । यसका लागि नेपाल भारतीय कि्रडाको केन्द्र बन्न सक्छ । अहिले यति उग्र रुपमा घटनाक्रम विकसित हुने अवस्था छैन । तथापि तिब्बतबाट भारतको हिमााचल प्रदेशस्थित दलाइ लामाको निर्वासित सरकार रहेको ठाउँसम्म पुग्न नेपाललाई करिडोरका रुपमा प्रयोग गरिरहेका तिब्बती नागरिकहरुका सवालमा चीन र भारतको खिचातानी तत्काल देखापर्न सक्छ । तसर्थ चीन-भारत आर्थिक सम्बन्ध सुधारको सम्भावना व्यापक रहेको अहिलेको अवस्थामा उनीहरुबीचको आर्थिक गतिविधिबाट लाभ लिन खोज्नु नेपालका लागि राम्रो हुन्छ । साथै चीन र भारत दुवैलाई प्रतिस्पर्धाको केन्द्र नेपाललाई नबनाउन आग्रह गर्नु पनि बुद्धिमानी ठहरिनेछ ।

Saturday, December 4, 2010

पीडाले जन्माएको कला



सुजित मैनाली

विजयी भएको उमंग र उन्मादमा युद्धले थोपरेका घाउहरु अनुभव गर्न लायक हुँदैनन् होला । यदि भए पनि यसका लागि समय र परिप्रेक्ष्यअनुकूल नहुँदो हो, सायद ।
दास्रो विश्वयुद्धमा सबैभन्दा काहालीलाग्दो युद्ध रुस र जर्मनीले बेहोरे । बि्रटेनमाथि धावा बोलिसकेपछि नाजी जर्मनीले एकोहोरो तारो बनायो, बोल्सेभिक पार्टीको नेतृत्वमा रहेको तत्कालीन सोभियत संघलाई । सोभियत नेता स्टालीनको पटक-पटकको आग्रहका बाबजुद मित्र सेनाले जर्मनीविरुद्ध दोस्रो युद्ध मोर्चा खोल्न आलटाल गरिरह्यो । इतिहासका जानकारहरु बताउँछन्, काँडाको सहायताले काँडा निकाल्ने आँङ्ल-अमेरिकी षडयन्त्रको परिणति थियो त्यो । आँङ्ल-अमेरिकी नेतृत्व फासिष्ट जर्मनी र साम्यवादी रुस एकअर्कामा टक्राएर नष्ट हुन् र आफू शत्रुविहीन संसारमा बाँच्न पाऊँ भन्ने चाहन्थ्यो । फलस्वरुप हातहतियारको गुणस्तर र रणकौशलमा जर्मनीभन्दा निकै पछाडि रहेको रुसलाई जर्मनीको प्रहार एक्लै खेप्न बाध्य बनाइयो

त्यतिबेला बोल्सेभिक नेतृत्वले देखाएको कुशल नेतृत्वकारी क्षमता संसारले युगयुगसम्म सम्झिरहनेछ । सोभियत सीमाभित्रका नागरिकहरुलाई राष्ट्रियताको सूत्रमा एकताबद्ध गरी जर्मनीले ओकलेको आगोको लप्काको सामना गर्न साम्यवादी नेतृत्वले खिया परेका रुसी सामन्ती सम्राटहरुको मूर्तिहरुसमेत चोकचोकमा स्थापना गरायो । प्रेस, टिभि, रेडियो, माइक, आदि उपलब्ध साचारका सम्पूर्ण माध्यममार्फत रुसी रगत र पहिचानलाई सतहमा ल्याउने काम गरियो । फलस्वरुप के महिला, के पुरुष,, के युवक के वृद्ध, के स्लाभ जाति, के जर्जियन, सबैजना सोभियत संघको साझा झण्डामुनि एकताबद्ध भए । संसारले विरलै अनुभव गर्ने राष्ट्रिय भावना रुसमा देखियो । देशभक्तिको त्यो सूत्रले रातारात कृषि उद्योग खनिज हातहतियार कारखाना आदिको उत्पादनलाई अकल्पनीय मात्रामा विस्तार गर् यो । नजिता के भयो भने रुसको प्रखर देशभक्तिसँग नाजि जर्मनी जुध्न नसकी चकनाचुर भयो ।

स्टालीनग्राणको भीषण युद्धमा अकल्नपीय धक्का बेहोरेको जर्मनीले त्यसपछि आफ्नो ढाँड सोझ्याउन सकेन । रुसको भित्री सिमानातिर धावा बोल्दै अघि बढिरहेको जर्मन सेनालाई पछाडि धकेल्दै अन्ततः बर्लिनमा सीमित गर्न रुसी सेना सफल भयो । जर्मनका शाशक हिटलरले आत्महत्या गरे । दोस्रो विश्वयुद्ध समाप्त भयो । जर्मनमाथि रुसको अकल्पनीय विजयले रुसी जनतामा आत्मविश्वास र राष्ट्रभक्तिको असीम तरंग साचार गरायो । यसरी दोस्रो विश्वयुद्ध सुरु हुनुअघि सामान्य शक्तिराष्ट्रका रुपमा परिचित रुस ६ वर्षको युद्धपछि महाशक्तिमा दरिन पुग्यो ।

जर्मनसँगको युद्धले राष्ट्रिय भावना साचार गरेको ऐतिहासिक तथ्यलाई मनन् गर्दै रुसले त्यतिबेलादेखि जर्मन-रुस युद्ध १९४१-१९४५लाई 'महान देशभक्ति युद्ध'का रुपमा मनाउँदै आएको छ । महान् देशभक्ति युद्धको ६५ औं वार्षिकोत्सवका अवसरमा कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा तीनदिने रुसी फिल्म फेष्टिबल आयोजना गरिएको थियो । ३ डिसेम्बरमा समापन भएको फेष्टिबलको अन्तिम दिन जर्मनमाथि रुसको विजययात्रालाई विषयवस्तु बनाइएको फिल्म प्रदर्शन गरिएको थियो ।

'फादर अफ अ सोल्जर' नामक उक्त फिल्ममा जर्मनसँगको युद्धका क्रममा घाइते भएको आफ्नो छोरोलाई भेट्न एक वृद्ध सैन्य अस्पतालमा जान्छ । अस्पतालबाट छोरो डिस्चार्ज भई रणभूमिमा फर्किसकेको जानकारी पाएपछि छोरो भेट्ने लालसामा बाउ रणभूमितर्फ लाग्छ र जर्मनविरुद्धको युद्धमा सरिक हुन्छ । सुरुमा जर्मनको भीषण आक्रमणबाट आक्रान्त रुसी सेनाले कालान्तरमा जर्मनतर्फ उल्टै धावा बोल्न थाल्छ । युद्धको साक्षी मात्र नभई युद्धमा सहभागी हुँदै बाबु बर्लिनसम्म पुग्छ । अन्ततः बर्लिनमाथि रुसको कब्जा हुन्छ । ठीक त्यतिबेलै युद्धमा घाइते भएको छोरोको अन्तिम सासको साक्षी हुन पुग्छ, कथाका बाबु पात्र । यसरी विजयको उमंग, युद्धका क्रममा आफ्नो छोरोले देखाएको बहादुरीप्रतिको गर्व र रित्तो मन लिएर बाबु घर फर्किन्छ, छोरोको पर्खाइमा बसेकी आफ्नी श्रीमतीलाई अब छोरो कहिल्यै फर्केर आउँदैन भन्ने खबर दिन ।

रुसी संस्कृति केन्द्रले वितरण गरेको ब्रोसरमा रुसी फिल्महरु विश्वस्तरीय रहेको भनी दाबी गरिएको छ । चलचित्र हेर्ने जो कोहीलाई पनि उक्त दाबी अतिशयोक्ति लाग्दैन । कथावस्तु, बाबुको भूमिकामा देखा पर्ने मुख्य कलाकारको अद्वितीय अभिनयकला, रणभूमिको जीवन्त छायांकन आदिले फिल्मलाई साँच्चिकै अद्वितीय बनाएको छ । दोस्रो विश्वयुद्धका घटनालाई कथावस्तु बनाई फ्रान्स बेलायत अथवा अमेरिकाले बनाएका फिल्मभन्दा कुनै कोणबाट निम्नकोटिको छैन 'फादर अफ अ सोल्जर ।'

कुनै पनि राष्ट्रमा खारिएको राम्रो कला अस्तित्वमा आउन त्यो देशले ठूलो दुःख अनुभव गर्नु अनिवार्य हुन्छ । 'फादर अफ अ सोल्जर' ले यस मान्यतालाई पुष्टि गरिदिएको छ । जर्मनसँग त्रासदीपूर्ण र बर्बर युद्ध लडिसकेपछि रुसले राजनीति र सैन्य क्षेत्रमा ठूलो तरक्की गर् यो । उसले परमाणु बम बनायो र परमाणु बमको भरमा विश्वमा बढिरहेको अमेरिकी महत्वाकांक्षालाई चुनौती दियो । सैन्य क्षेत्रमा मात्र नभई रुसले कलाका क्षेत्रमा समेत अत्यन्त ठूलो सफलता हासिल गर् यो । यसो हुनुको खास कारण थियो । त्यो के भने दोस्रो विश्वयुद्धको सबैभन्दा ठूलो मार खेप्ने दुइृ राष्ट्रमध्ये एक रुस स्वं थियो । जर्मन र रुसले युद्धमा सबैभन्दा बढी नागरिक गुमाए । मृत्यु, अभाव, विछोड पीडाको चरम अवस्थासँग रुसको गहिरो साक्षात्कार भयो । नतिजास्वरुप युद्धपश्चात् रुसी फिल्मले ठूलो उपलब्धि हासिल गर् यो ।

राजनीति र फिल्ममा मात्र नभई साहित्यमा समेत अलग ध्रुवको नेतृत्व गर्न रुस सफल भयो । लियो टोल्सटोय एन्टोन चेखोव एलेक्सेन्द्र पुस्किन फ्योदोर दोस्तोयेवोयस्की मे_िक्सम गोर्कीलगायतका अद्वितीय लेखकहरुले विश्वभर रुसी साहित्यको झण्डा फहराए ।

शीतयुद्धताका आफू महाशक्ति बनेको समयमा नेपाललगायतका विभिन्न राष्ट्रमा 'सफ्ट पावर' आर्जन गर्न रुसले सास्कृतिक केन्द्रहरु स्थापना गरेको थियो । त्यतिबेला नेपाली भाषामा धेरै रुसी साहित्यहरु अनुवाद हुने गर्दथे । बर्लिनको पर्खाल ढलेपछि सन् १९९० मा सोभियत संघ पतन भए पनि रुसले नेपालमा रुसी सांस्कृतिक केन्द्रको कि्रयाकलापलाई जसोतसो निरन्तरता दिइरहेको छ । अहिले रुसको वैदेशिक नीतिले नेपाललाई समेटेको छैन । तथापि नेपालमा रुसी संस्कृति विस्तारका लागि उसले अझै काम गरिरहेको छ । अन्तर्राष्ट्रिय राजनीतिमा 'हार्ड पावर' लाई स्थायित्व दिलाउन 'सफ्ट पावर' आवश्यक हुन्छ । रुसी संस्कृति केन्द्रको कि्रयाकलापबाट नेपालका राज्य साचालकहरुले ठूलो शिक्षा लिन जरुरी छ । नेपालले अन्य राष्ट्रहरुमा समय-समयमा सांस्कृतिक साहित्यिक तथा कलासँग सम्बन्धित अन्य कार्यक्रमहरु आयोजना गरिरहनुपर्छ । खासगरी हाम्रा छिमेकी राष्ट्रहरु भारत र चीनमा यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नु नितान्त आवश्यक छ । नत्र हाम्रो राजनीतिमा ठूलो प्रभाव पार्ने ती राष्ट्रका नागरिकहरुले हामीलाई राम्रोसँग बुझ्न सक्दैनन् र जनस्तरमा उनीहरुसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध स्थापना हुन सक्दैन । अहिले त्यसैको परिणाम हामी भोगिरहेका छौं ।