Friday, January 22, 2010

'कार्ड' उपयोगमा माओवादी




सुजित मैनाली

अमेरिकासँगको मिलेमतोमा दलाई लामाले तिब्बतमा चीनको 'सुजेरइन' हैसियत अस्वीकार गर्दै उसलाई तिब्बतबाट विस्थापित गर्न चाहेपछि माओत्सेतुङको निर्देशनमा सन् १९५९ मा चिनियाँ जनमुक्ति सेनाले तिब्बतमाथि आक्रमण गर्यो । आक्रमणपछि पोताला दरबार छाडी भागेका दलाई लामालाई भारतले आश्रय दियो । सतही रुपमा हेर्दा दलाई लामालाई भारतले शरण दिनुका पछाडि मानवीय मूल्य र मान्यताले काम गरेको देखिए पनि तिब्बतको भूराजनीतिक सम्भावना हत्याउन चीन र भारत दुवैले देखाएको व्यग्रता यसका लागि जिम्मेवार थियो । अन्तर्राष्ट्रिय राजनीतिमा भावना र मानवीयताको कुनै स्थान हुँदैन, शक्तिविस्तार नै यसको एकमात्र लक्ष हो भन्ने सत्यलाई यस घटनाले पुनःपुष्टि गरिदियो ।

'तिब्बत कार्ड' सुरक्षित गरी चीनसँगको अन्तरविरोधमा आवश्यकताअनुरुप यसको उपयोग गर्न भारतले दलाई लामालाई सम्मानजनक आतिथ्य प्रदान गरेको थियो । यसै पृष्ठभूमिमा जवाहरलाल नेहरुको अग्लो अन्तर्राष्ट्रिय व्यक्तित्वका बावजुद भारतमाथि चीनले सन् १९६२ मा आक्रमण गरेपछि लज्जास्पद हार बेहोर्न भारत बाध्य भयो । राजनीतिमा 'कार्ड'को महत्व र यसले वहन गर्ने संवेदनशीलताको झलक यसबाट पाउन सकिन्छ । राजनीतिमा 'कार्ड' प्रभावकारी हुनसक्छ । तर, यसलाई सही ढंगले व्यवस्थापन र उपयोग गर्न सकिएन भने यसले भारतको नियति दोहोर्याउन पनि सक्ने भएकाले 'कार्ड' प्रयोगकर्ता यसप्रति सचेत हुन जरुरी छ ।

लामो अन्तरालपछि नेपाली राजनीतिमा रणनीतिक चालबाजीको अभ्यासलाई एकीकृत माओवादीले ब्युँत्याएको छ । नागरिक सर्वोच्चताको नारा पार्टीघेराभन्दा बाहिर विस्तारित हुन नसकेपछि र यसले आफू नेतृत्वको सरकार गठनका लागि भारतलाई सहमत गराउन नसकेपछि माओवादीले भारतलक्षित 'राष्ट्रिय स्वाधीनताको आन्दोलन' चर्काइसकेको छ । सत्ताप्राप्तिमा देखिएको व्यवधानको छटपटीले नै माओवादीलाई भारतविरुद्ध जाइलाग्न बाध्य बनाएको भए पनि हाल उसले उठान गरेको राष्ट्रवादी एजेन्डाले नेपाल-भारत सम्बन्धको लुकेको आयामलाई मात्र उजागर गरेको छैन, बरु यसले नेपालको भूराजनीतिक महत्ता र भारतसँगको नेपालको सम्बन्धमा नेपालको सुदृढ 'बार्गेनिङ' क्षमतालाई समेत सतहमा ल्याइदिएको छ । यस दिशामा माओवादीले चालेको कदम स्वागतयोग्य छ ।

'राष्ट्रिय स्वाधीनताको आन्दोलन'कै क्रममा हाल माओवादीले सुगौली सन्धिको वैधतामाथि प्रश्न उठाउँदै सन्धिबाट गुमेको मेचीपूर्व टिस्टा र महाकालीपश्चिम काँगडासम्मको भूभागमाथि नेपालको दाबी गरेको छ । आफू नेतृत्वको सरकार गठनको मार्गमा नयाँदिल्लीले भाँजो हाल्न नछोडेपछि उसलाई तर्साउन माओवादीले भारतद्वारा अतिक्रमित भूभागको स्थलगत निरीक्षण गर्ने र दिल्लीको नेपालप्रतिको हेपाहा व्यवहारको सार्वजनिक रुपमै कडा आलोचना गर्ने काम गरिसकेको छ । यसका बावजुद भारतीय विदेशमन्त्री एसएम कृष्णाले पछिल्लो नेपाल भ्रमणका क्रममा माओवादीप्रति अपेक्षाकृत लचकता अपनाउन अस्वीकार गरेपछि नयाँदिल्लीलाई 'गतिलो पाठ पढाउन' माओवादीले 'ग्रेटर नेपाल कार्ड' खेल्ने प्रयत्न गरेको छ । सुगौली सन्धिबाट गुमेको भूभाग पुनः नेपालमा गाभिनुपर्ने न्यायोचित माग नै 'ग्रेटर नेपाल' सिद्धान्तको मूल मर्म हो ।

योगी नरहरिनाथ र सुभाष घिसिङले चर्चामा ल्याएको 'ग्रेटर नेपाल' सिद्धान्तलाई हाल फणिन्द्र नेपालले प्राज्ञिक रुपमा मात्र नभई सांगठनिक रुपमा समेत गति दिइरहेका छन् । सन् १८१६ मा बि्रटिश र नेपालबीच भएको सुगौली सन्धि भारतबाट ब्रीटिस फर्किनासाथ स्वतः भंग भइसकेको यसका सिद्धान्तकारहरुको कथन छ । त्यसमाथि विवादित १९५० नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सन्धि हुनुअघि नेपाल सरकार र भारतका तर्फबाट इस्ट इन्डिया कम्पनीबीच भएका सम्पूर्ण सन्धिसम्झौता रद्द भएको उल्लेख गरेबाट पनि सुगौली सन्धि मृत भइसकेको 'ग्रेटर नेपाल'का सिद्धान्तकारहरुको दाबी छ । यस्ता सशक्त ऐतिहासिक एवम् कानुनी आधार टेकेको 'ग्रेटर नेपाल कार्ड' भारतलाई गलाउन पर्याप्त रहेको माओवादी विश्लेषण छ जुन यथार्थपरक पनि देखिन्छ ।

राष्ट्रिय स्वार्थ सम्वद्र्धनमा मुलुकले विभिन्न कार्ड खेल्नेगर्छन् । अमेरिकासँग चीनले अटेर गरेमा ताइवानसँग हातहतियार बिक्री सम्झौता गरेर अमेरिकाले चीनलाई तसा्रउने गरेको छ । इरान-पाकिस्तान-भारत ग्यास पाइपलाइन विस्तार योजनामा पाकिस्तानलाई सहमत गराउन भारतले 'बलुचिस्तान कार्ड' खेलिरहेको छ । त्यसैगरी भारत-अमेरिका गठबन्धनबाट एसिया महाद्वीपमा आकाशिएको भारतीय महत्वाकांक्षालाई सीमित गर्न चीनले 'पाकिस्तान कार्ड' खेल्दै आएको छ । अफ्गानिस्तानमा पाकिस्तानी प्रभावसँग मुकाबिला गर्न भारतले तालेवानविरोधी शक्तिसँग बढाएको हिमचिम र पाकिस्तानले तालेवानप्रति अप्रत्यक्ष ढंगले अवलम्बन गरेको नरमपनालाई पनि यसै रुपमा हेर्न सकिन्छ ।

'राजनीतिक कार्ड' शक्तिशाली राष्ट्रहरुको मात्र वशको कुरा भने होइन । म्यानमारको आन्तरिक मामिलामा भारतले हस्तक्षेप बढाएपछि यसको जवाफमा म्यानमारले पनि उत्तरपूर्वी भारतका पृथकतावादी समूहसँग हिमचिम बढाएको थियो । यसबाट भारत पछि हट्न बाध्य भएको थियो । त्यसैगरी हालै श्रीलंकाले भारतीय तथा अन्य पश्चिमी राष्ट्रविरुद्ध 'चाइना कार्ड' खेलेर पृथकतावादी तामिल द्वन्द्व सफलतापूर्वक दमन गरेको हामी सबैले देखेकै हौं । यस्तो परिप्रेक्षमा नेपालले भारतविरुद्ध कुनै 'कार्ड' खेल्न सक्दैन भन्ने छैन । पाचायतकालमा राजा महेन्द्रले भारतीय सहयोग भित्र्याउन 'चाइना कार्ड' खेलेको सत्य पनि यहाँ स्मरण गर्नुपर्छ ।

भारतविरुद्ध 'ग्रेटर नेपाल कार्ड' खेल्न खोजेर माओवादीले नेपालको सुदृढ हैसियत प्रदर्शन गरेको भए पनि 'ग्रेटर नेपाल' स्थापनाका लागि ऊ पूर्णतः इमान्दार हुने सम्भावना अत्यन्त कम छ । 'ग्रेटर नेपाल कार्ड' भजाएर माओवादी सीमित राजनीतिक लाभ हासिल गर्न चाहन्छ । तर सीमित उपलब्धिमा रमाउने कि 'ग्रेटर नेपाल' अभियानलाई निर्णायक बिन्दुमा पुर्याएर नेपाललाई अनन्त कालसम्मका लागि भारतीय पाजाबाट मुक्त गर्ने ? निर्णय गर्नुपर्ने माओवादी नेतृत्वले हो । 'ग्रेटर नेपाल' स्थापनाका लागि आवश्यक कानुनी आधार हामीसँग प्रशस्तै छन् । अन्तर्राष्ट्रिय अदालतलगायतका नियकायहरुले पनि यसलाई उपेक्षा गर्नसक्ने स्थिति छैन । 'ग्रेटर नेपाल' सम्भव भएमा नेपालले पूर्वमा बंगलादेश नाउँको अर्को छिमेकी पाउनेछ । र, हम्बानटोटा र मंग्ला बन्दरगाहको उपयोग गरेर अन्तर्राष्ट्रिय व्यापारमा नेपालले भारतको एकाधिकारलाई चुनौती दिनसक्नेछ । यसरी नेपाललाई आर्थिक एवम् राजनीतिक रुपमा स्वाधीन बनाउनेपट्टि लाग्ने कि भारतले काजुस्याइँपूर्वक दिने सीमित छुटमा आत्मरति गर्दै रमाउने ? अधिकार मागेर होइन खोसेर लिनुपर्छ, यो माक्स्रदेखि माओसम्मको दर्शनको चुरो हो कि होइन ? हो भने यो कुरा 'ग्रेटर नेपाल'को सवालमा लागू हुने कि नहुने ?

कम्युनिस्टहरुले भन्नेगरेको क्रान्ति सफल हुनका लागि 'मसल्स (पाखुरा)' र 'मास पार्टिसिपेसन (बृहत्त जनसहभागिता)'को आवश्यकता पर्दछ । हात्ती सफारीसम्म संगठन विस्तार गरिसकेको माओवादी पार्टीसँग पाखुराको कमी छैन । रह्यो बृहत्तर जनसहभागिताको, कुरा जुन 'ग्रेटर नेपाल'लाई कार्डको रुपमा नभई लक्षको रुपमा अवलम्बन गरे सजिलै पाउन सकिन्छ । इतिहासमा विरलै आउने यस्तो स्वार्णिम मौकालाई उपयोग गरेर 'महान् छलाङ' मार्ने कि सीमित सुधारसहितको 'अर्धऔपनिवेशिक यथास्थितिवाद'मा रमाउने ? यसपट्टि माओवादीले दूरदृष्टि राखेर इमान्दारितापूर्वक सोच्नै पर्छ ।

0 comments: