Monday, August 17, 2009

जटिल मोडमा अन्तर्राष्ट्रिय राजनीति



सुजित मैनाली

पछिल्ला पन्ध्र दिनमा भारत र चीनका साचारमाध्यमहरुले यस क्षेत्रको मानचित्र परिवर्तन गर्न सघाउ पुर्याउने खालका डरलाग्दा विचारहरु सम्प्रेषण गरे । खासगरी चीन भारत र पाकिस्तानजस्ता एसियाका मुख्य आणविकसम्पन्न राष्ट्रसँग सम्बन्धित त्यस्ता विचारहरुले उग्रराष्ट्रवादलाई मात्र प्रतिबिम्बित नगरी यस क्षेत्रमा बढ्दै गएको शक्तिको उन्मादबाट निकट भविष्यमा देखा पर्नसक्ने भयावह स्थितिको झलकसमेत प्रदान गरेका छन् ।

उल्लेखित सबै पक्षका विचारहरुमा नेपाल पनि सम्बन्धित भएकाले यसप्रति चासो राख्नु सचेत नेपालीका लागि रुचिमात्र नभई बाध्यता पनि हो । अन्तर्राष्ट्रिय राजनीति डरलाग्दो मोडतर्फ अग्रसर भइरहेको अहिलेको समयमा नेपालका राजनीतिक खेलाडीहरु अस्वस्थ आन्तरिक शक्तिसंघर्षमा लिप्त हुनु सचेत नेपालीका लागि चिन्ताको विषय हो ।

हाल यस क्षेत्रमा प्रसारित हुन थालेका विचारहरुले शक्तिराष्ट्रबीचको प्रत्यक्ष द्वन्द्वतर्फ संकेत गरेको छ । साथै आफ्नो क्षमता सुदृढ गर्न अन्य राष्ट्रको अस्तित्वमाथि धावा बोल्नेसम्मको मनस्थिति भारत चीन र पाकिस्तानमा विकसित हुँदै गएको यसबाट प्रष्ट भएको छ ।

भारतीय विश्लेषक अनुराग महेश्वरीले भावी क्षेत्रीय राजनीतिको आँकलन गर्दै हालै एक लेखमार्फत् निकट भविष्यमा पाकिस्तान भन्ने राष्ट्र नरहने ठोकुवा गरिन् । भारत र पाकिस्तानबीचको शत्रुता चुलिँदै गएको पृष्ठभूमिलाई उल्लेख गर्दै उनले पाकिस्तानमा जारी जेहादीकरणका कारण पाकिस्तानको आणविक हातहतियार उग्रवादीहरुको नियन्त्रणमा जाने दाबीसमेत गरिन् । सन् २०२२ मा भारत र पाकिस्तानबीच हुने आणविक युद्धबाट उत्पन्न विध्वंश सम्हाल्ने क्षमता पाकिस्तानसँग नरहने ठोकुवा गर्दै उनले भारतको विशाल जनसंख्या र रणनीतिक सघनताले उसलाई क्षतविक्षत स्थिति नियन्त्रणमा लिन सघाउ पुर्याउने तर्क गरिन् । यसभन्दा कैयौं कदम अघि बढ्दै उनले भनिन्, 'त्यसपछि पाकिस्तान भन्ने राष्ट्र जातीय आधारमा विभिन्न खण्डमा विभाजित हुनेछ । सन् २०४० मा पूर्व पाकिस्तान बंगलादेश र भारतको शक्तिस्वरुपमा आउने व्यापक फेरबदलले उनीहरुलाई औपचारिक रुपमा संयुक्त राज्य इण्डियामा समाहित गर्नेछ । अन्ततः उक्त संघमा नेपाल, श्रीलंका, सम्भवतः पस्तुनिस्तान र अन्य स-साना राजनीतिक केन्द्रहरुसमेत आबद्ध हुनेछन् ।'

महेश्वरीको उक्त भनाइ बि्रटिश उपनिवेशले भारतमा छाडेर गएको साम्राज्यवादी मनोविज्ञानको उपज हो । साथै यसमा हाल अमेरिकासँग भारतले गरेको मोर्चाबन्दीको रवाफ पनि झल्किएको छ । सन् १९४७ मा बि्रटिश उपनिवेशबाट मुक्त भएपछि भारतले यस क्षेत्रमा अंग्रेजले अवलम्बन गरेको वैदेशिक नीति र व्यवहारलाई नै आफ्नो आदर्श बनायो । चीन, नेपाल, भुटान, सिक्किमजस्ता छिमेकी राष्ट्रसँग अंग्रेजले स्थापित गरेको सम्बन्धलाई निरन्तरता दिँदै नवस्वाधीन भारतले हिमालय दक्षिणका भूभाग भारतको प्रभाव क्षेत्र हो भन्ने अंग्रेजहरुको तर्कलाई शिरोधार्य गरी चीनलाई यस क्षेत्रमा निषेध गर्ने प्रयास गर्यो ।

प्रथम भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले, 'भारतको सिमाना हिमालय पर्वतसम्म फैलिएको छ' भनी दिएको अभिव्यक्तिले उपनिवेशकालीन धङधङी बोकेको थियो । हिमालय दक्षिणमा रहेका बंगलादेशसहितको तत्कालीन पाकिस्तान, नेपाल, सिक्किम, भुटान र श्रीलंकाजस्ता सार्वभौम मुलुकहरु भारतकै हिस्सा भएको दाबी गर्ने साम्राज्यवादी पटेल मनोविज्ञानबाट भारतले आफूलाई अझैसम्म मुक्त गर्न सकेको छैन । यसै कारणले गर्दा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण चीनबाट सुरु गर्न खोज्दा र श्रीलंकाले आन्तरिक कलह समाधानका लागि चीनबाट हतियार झिकाउँदा भारतीयहरु आकाश खसेझंै गर्छन् । र महेश्वरीजस्ता विश्लेषकहरु जातीय आधारमा भारतीय राष्ट्रियतामा देखिएका जटिलतालाई बेवास्ता गर्दै भारतबाहेक अन्य राष्ट्र यस क्षेत्रमा रहन नसक्ने दाबी गर्छन् ।

हिमालय दक्षिणका भूभागमा मात्र नभई भारतले चीन अधिनस्थ तिब्बतमा समेत आँखा गाडेको छ । चीनमा छिङ साम्राज्य गृहयुद्धमा फसेको अवसर पारी अंग्रेजले तिब्बतमा आक्रमण गरेको थियो । तर पनि तिब्बतका विजित भूभागमा प्रत्यक्ष शासन गर्न सम्भव नदेखेर तिब्बतसँग आफू अनुकूलको सन्धि गरी अंग्रेज सेना भारत फिर्ता भएको थियो । तिब्बतलाई अर्धउपनिवेश बनाउने अंग्रेजको चाहना दाइजोस्वरुप ग्रहण गरेर भारतले सन् १९५९ मा चीनबाट लखेटिएका नेता दलाई लामालाई हिमाचल प्रदेशमा आश्रय दिई चीनविरुद्ध खेल्न 'तिब्बत कार्ड' सुरक्षित राख्ने कार्य गर्यो । तिब्बतलाई आफू अधिनस्थ भूभाग बनाउने भारतको चाहना चीनले तुहाइदिएपछि छटपटिएको भारतले सीमा विवादका नाममा तिब्बतमा घुसपैठ गर्न थालेपछि सन् १९६२ मा भारतमाथि आक्रमण गरी चीनले आफूलाई क्षेत्रीय शक्तिका रुपमा स्थापित गराउन सफल भयो ।

तिब्बतको सुदृढ भूराजनीतिक क्षमता हत्याउन भारत असमर्थ भए पनि तिब्बतमा आफूअनुकूलको व्यवस्था स्थापित गरी चीनमाथि आफू हावी हुने भारतीय चाहनामा अझै पूर्णविराम लागेको छैन । बरु पश्चिमी राष्ट्रसँगको मोर्चाबन्दीबाट उसले यसतर्फको यात्रालाई थप गति दिन थालेको छ । भारतसहित दक्षिण एसियाली राष्ट्रसँग चीनले 'क्वाइट डिप्लोमेसी' अवलम्बन गरेको भए पनि दलाई लामाको समर्थनमा भारतका पूर्व राष्ट्रपति पूर्व मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुले खुला समर्थन गरिरहेकाले यसको जवाफमा ठोस कदम चाल्न चीन बाध्य भएको छ ।

चीनको यस्तो बाध्यताको संकेत अगस्ट ११ मा प्रस्फुटित भयो । चीनको आन्तरिक मामिलामा भारतीय अधिकारी र साचारमाध्यमहरुले प्रत्यक्ष हस्तक्षेप गरिरहेको जवाफमा भारतभन्दा एक कदम अघि बढी चीनले भारतका आन्तरिक तथा बाह्य शक्ति दुवैसँग मिलेर उसको अस्तित्व नै नामेट पार्ने संकेत धम्की दिएको छ । यसलाई तिब्बत मामिलाबाट हात झिक्न चीनले भारतलाई दिएको चेतावनीका रुपमा बुझ्न सकिन्छ ।

चीनको 'इन्टरनेश्नल इन्टिच्युट फर स्ट्राटेजिक स्टडिस' नामक अध्ययन केन्द्रमा आबद्ध वरिष्ठ चिनियाँ रणनीतिकार झान लुईले अगस्ट ११ मा एक लेखमार्फत् भारतलाई २० देखि ३० टुक्रामा विभाजित गर्नुपर्ने धारणा व्यक्त गरे । इण्डिया भन्ने राष्ट्र इतिहासमा कहिल्यै नभएको उल्लेख गर्दै उनले यस क्षेत्रको समृद्धि र विकासका लागि इण्डिया टुकि्रन आवश्यक रहेको बताए । चीनको सानो सकि्रयताले भारतलाई टुक्राउन सक्ने दाबी गर्दै उनले भने, 'यसका लागि पाकिस्तान, नेपाल, र भुटानसँग चीनले समन्वय गर्नुपर्छ : स्वतन्त्र राष्ट्रका लागि लडिरहेको उल्फा र काश्मिरीहरुलाई सहयोग गर्नुपर्छ : भारतका तामिल र नागाको राष्ट्रियता प्रवद्र्धन गर्नुपर्छ : स्वतन्त्र पश्चिम बंगालका लागि पहल गर्न बंगलादेशलाई प्रेरित गर्नुपर्छ र अन्त्यमा दक्षिणी तिब्बत (चिनियाँहरु अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बत भन्छन्) को ९० हजार वर्गकिलोमिटर भूमि चीनले फिर्ता लिनुपर्छ ।'

अमेरिकासँग भारतले कूटनीतिक एवं रक्षा सहकार्य गरेपछि क्षेत्रीय शक्ति सन्तुलनका लागि चीन र पाकिस्तानले आपसी सम्बन्धलाई थप व्यापक बनाउन थालेका छन् । पाकिस्तान शासित काश्मिरबाट तिब्बत र पाकिस्तान जोड्ने सडकमार्ग निर्माण भएपछि सशंकित बनेको भारत चिनियाँ रणनीतिकारको यस्तो भनाइ सार्वजनिक भएपछि थप चिन्तित बनेको छ । सम्भवतः विश्वकै सबैभन्दा धेरै जातजाति बसोबास गर्ने भारतमा कुनै पनि जातिको प्रष्ट बहुमत नहुनु उसको सबैभन्दा डरलाग्दो सुरक्षा चुनौती हो । खालिस्तान विद्रोह दमनमा खरो ढंगले उत्रिएकी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी आफ्नै शिख अंगरक्षकद्वारा मारिएको घटना भारतको जातीय संवेदनशीलतालाई उजागर गरेको छ । काश्मिरदेखि नागाल्याण्डसम्मको विद्रोह दमन तथा कार्गिलदेखि लद्दाख युद्ध सबैमा भारतले गोर्खा रेजिमेन्टलाई अगि्रम मोर्चामा परिचालन गर्ने गरेको तथ्यले भारतलाई अखण्ड र सार्वभौम राख्न नेपाल अपरिहार्य रहेको पुष्टि भएको छ ।

भारतलाई टुक्राउन चीनले नेपालसँग समन्वय गर्न सक्ने भएपछि भारतले नेपाललाई पूर्णरुपले आफ्नो नियन्त्रणमा लिने रणनीतिलाई तीव्रता दिन सक्छ । दुई 'शक्तिपिपाषु' छिमेकी राष्ट्रहरुबीचको होडबाजीमा नेपाल नयाँ काश्मिर बन्न सक्ने भएकाले नेपाली नेतृत्वको काँधमा नेपाल जोगाउने युगान्तकारी दायित्व आइलागेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले भनेका थिए 'तिब्बत चीनको हत्केला हो भने नेपाल, भुटान, सिक्किम, लद्दाख र अरुणाचल प्रदेश यसका पाँच औंला हुन् ।' बन्द मुठ्ठी लालसलाम कम्युनिष्टहरुको शान हो । त्यस्तै हिमालय पर्वतसम्मको सिमाना भारतको हो भन्ने प्रधानमन्त्री जवाहरलाल नेहरुको भनाइ भारतको भूराजनीतिक क्षमता सुदृढ गर्ने उत्कट अभिलाषाको उद्घोष हो । उत्तरको शान र दक्षिणको उत्कट अभिलाषामा निहित अतिवादी चिन्तन नेपालको सार्वभौमिकताविरोधी तत्व हुन् । राष्ट्रको आयु युगयुगान्तरसम्म रहनुपर्छ भन्ने मान्यताका साथ अन्तर्राष्ट्रिय राजनीतिमा देखिएका यस्ता जटिलताबाट नेपाललाई सुरक्षित राख्नु महत्वाकांक्षी संयम र इमान्दार शासकले मात्र सक्ने भए पनि नेपाली नेतृत्वमा यसको झिनो सम्भावना समेत देखिँदैन ।

(लेखक पत्रकारीता पेशामा आबद्ध छन्)

Article on new challenges of international politics : Nepal's perspective
By Sujit Mainali

Friday, August 7, 2009

'साइवर वार'मा तिब्बत




सुजित मैनाली

मार्क्सवादीहरु समाजलाई वर्गीय दृष्टिकोणले नियाल्दछन् । नेपालमा जारी द्वन्द्व वर्गीय चरित्रको धनी र गरिबबीचको छ-छैन भन्ने विषय छुट्टै अनुसन्धानको विषय बन्नसक्छ । तर राष्ट्रिय स्वार्थबारे समाजका विविध तह र तप्कामा हुने विश्लेषणले यसलाई भने वर्गीय स्वरुप प्रदान गरेको आधार सजिलै भेटाउन सकिन्छ ।

शासक र शासित गरी नेपालमा राष्ट्रिय स्वार्थलाई अथ्र्याउने दुईवटा प्रमुख वर्ग छन् । नागरिकता विधेयकमार्फत जन्मको आधारमा हालसालै नागरिक बनेका हरुलाई बिर्सिनु यहाँ उपयुक्त हुन्छ । शासक वर्ग आफ्नो शक्ति कायम राख्न विदेशी शक्ति खासगरी भारतको ताबेदारी गर्छ र शक्तिको स्रोत विदेश नयाँदिल्लीलाई नै देख्छ । आफू शक्तिमा रहन राष्ट्रको सार्वभौमिकतासँग सम्बन्धित संवेदनशील मुद्दा पनि विदेशीको पाउमा अर्पण गर्न ऊ तत्पर छ । १९५० १९६५ २०६३ लगायतका विविध कालखण्डमा भएका ऐतिहासिक सन्धि-सम्झौता र घोषणाले यसको पुष्टि गरिसकेको छ ।

अर्को शासित वर्ग राष्ट्रियता सम्वद्र्धनप्रति समर्पित छ र नेपालको सार्वभौम अस्तित्वका लागि मरिमेट्छ । तर यो वर्ग बहुसंख्यक भए पनि असंगठित छ । यसै वर्गको प्रतिनिधित्व गर्ने नेपालको बहुचर्चित अनलाइन पत्रिका 'टेलिग्राफ नेपाल डटकम' राष्ट्रिय स्वार्थ सम्वद्र्धनका लागि जनतालाई घच्घच्याउने, शासक वर्गको अराष्ट्रिय र सम्झौतापरस्त व्यवहारमाथि प्रहार गर्ने र विदेशीहरुसँग प्राज्ञिक युद्ध गर्ने कार्य गरिरहेको छ । नेपालमा 'साइवर वार'को अनुपम नमुना पहिलोपटक यसले प्रस्तुत गरेको छ ।

पछिल्लोपटक मधेसवादी दलका केही सभासद्हरुले भारतमा गई तिब्बती नेता दलाइ लामासँग राजनीतिक भेटघाट गरे । उनीहरुले दलाइ लामालाई नेपाल भ्रमणको निम्तोमात्र दिएनन् संविधानसभामा 'स्वतन्त्र तिब्बत आन्दोलन'का पक्षमा आवाज उठाउने वचन पनि दिए । त्यसपछि विकसित भएको चीनको छटपटिलाई विषय बनाएर टेलिग्राफ नेपालका प्रधान सम्पादक एनपी उपाध्यायले एक लेखमार्फत भनेका थिए, 'नेपाल राष्ट्र निकट भविष्यमा दुर्घटनाग्रस्त हुनसक्छ राष्ट्रिय राजनीतिलाई भित्तामा ठोकाउने कार्य भइरहेको छ ।' प्रत्येक दलभित्रको र दलबीचको खिचातानीसँग जोडिएको विदेशी (भन्न खोजिएको भारत र अमेरिका)को नांगो घुसपैठले ढिलोचाँडो राष्ट्रलाई विखण्डित गर्नेतर्फ सचेत गराउँदै उपाध्यायले आफ्नो भनाइलाई मधेसवादी दलका केही सभासद्हरुले दलाइ लामासँग गरेको राजनीतिक भेटसँग सम्बन्धित गराएका थिए ।

बेइजिङमा हालै सम्पन्न विश्वभरिका चिनियाँ राजदूतको सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुअघि नेपालका लागि चिनियाँ राजदूतले दलाइ लामा र मधेसवादी दलका केही सभासद्हरुबीचको बढ्दो अन्तरंगप्रति असन्तोष व्यक्त गर्दै नेपाली अधिकारीहरुलाई यसतर्फ सचेत गराएका थिए । परराष्ट्र मन्त्रालय स्रोतको हवाला दिँदै उपाध्यायले लेखेका थिए, 'चीन प्रस्थान गर्नुअघि नेपाली अधिकारीहरुलाई राजदूतले चिनियाँ लालसेना उच्च सतर्कतामा रहेको र आवश्यक महसुस हुनासाथ उनीहरुलाई तिब्बत-नेपाल सीमामा परिचालन गरिने संकेत गरेका थिए ।'

उपाध्यायको सो लेख प्रकाशित भएपछि नयाँदिल्लीको प्राज्ञिक तह र सुरक्षा रणनीतिकारहरुको वृत्तमा खैलाबैला मच्चियो । स्वतन्त्र तिब्बतको बहुआयामिक पक्षबारे नेपाली सचेत बनेकोमा भन्दा पनि आफ्नो अनन्य मित्रराष्ट्र नेपालविरुद्धसमेत तिब्बतको सुरक्षाका लागि चीनले सैन्य कदम चाल्नसक्ने खबरबाट उनीहरु भयभीत बनेका थिए । भारतको यस्तो छटपटिलाई भारतीय जासुसी संस्था 'रअ'बाट तीन वर्षअघि सेवानिवृत्त भएका चीन तथा नेपाल मामिलासम्बन्धी विशेषज्ञ मानिने भाष्कर रायले 'साउथएसियाएनालिसिस डटओआरजी'मा एक लेख प्रकाशित गरी पुष्टि गरिदिए ।

नेपालको स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय स्वार्थका पक्षमा विचार प्रवाहित गर्नेहरुलाई चिनियाँ अथवा पाकिस्तानी एजेन्टको बिल्ला भिराउने भारतीयहरुको निकृष्ट परम्परालाई निरन्तरता दिँदै भाष्कर रायले आफ्नो लेखमार्फत भने,'नेपालका वरिष्ठ पत्रकार तथा राजनीतिकर्मी एनपी उपाध्यायले हालसालै आफ्नो लेखमार्फत डरलाग्दो विचार प्रवाहित गरेका छन् । अमेरिका र भारतले नेपाली भूमिबाट चीनलाई अस्थिर बनाउने र तिब्बतलाई टुक्राउने कोसिस गरिरहेका छन्, समस्या आइलाग्ने देखेमा चीनले नेपालविरुद्ध सैन्य कदमसमेत चाल्नसक्छ भन्ने उपाध्यायको लेखको मुख्य सन्देश हो ।'

स्वतन्त्र पत्रकारितामा समर्पित व्यक्तिलाई राजनीतिकर्मी भएको लान्छना लगाएर रायले उपाध्यायको लेखले दलविशेषको एजेन्डा बोकेको प्रमाणित गर्न खोजेका छन् । उनले प्रस्टै भनेका छन्, 'उपाध्यायको लेखले चीन र मोहन वैद्य 'किरण', रामबहादुर थापा 'बादल' लगायतका एकीकृत नेकपा माओवादीका चीनपरस्त 'हार्डलाइनर' नेताले नेतृत्व गरेको पंक्तिको विचार प्रवाहित गरेको छ ।'

स्वतन्त्र तिब्बत आन्दोलनको समर्थन अन्ततः नेपालकै सार्वभौमिकताको विरोध हो । स्वाभिमानी नेपालीले राष्ट्रिय स्वार्थरक्षाका लागि स्वतन्त्र तिब्बत आन्दोलनलाई पाखा लगाउने छन् यसमा दुईमत छैन । अन्तर्राष्ट्रिय कुटनीतिमा नैतिकता मानवअधिकार मगन्ते संस्कृतिजस्ता विषयहरुको कुनै स्थान हुँदैन । लेनदेनको कठोर तराजुमार्फत राष्ट्रले अन्तराष्ट्रिय सम्बन्धको आधार निर्माण गर्दछ । तिब्बत हिजो चीनको थियो अथवा थिएन भन्ने विषय इतिहासका विद्यार्थीहरुका लागि सान्दर्भिक होला । तर तिब्बत चीनको मातहतमा रहँदा नेपालको स्वार्थरक्षा हुन्छ, नेपालको भलो चाहनेले मात्र यति बुझे पुग्छ । यस्तो परिस्थितिका बीच उपाध्यायले नेपालबाट हुने स्वतन्त्र तिब्बत आन्दोलनबारे चिनियाँ अधिकारीहरुलाई अखबारमार्फत सचेत गराउँछन् भने उनले चिनियाँ विचार प्रवाहित गरेको कसरी ठहर्छ ? भाष्कर रायजस्ता विद्वान्हरुले बुझ्नुपर्छ, उनीहरुलाई भारतको जति माया छ नेपालीहरु पनि नेपाललाई उतिनै माया गर्छन् । राष्ट्रप्रतिको प्रेम भूगोल, जनघनत्व जस्ता झिनामसिना विषयले निर्धारण गर्न सक्दैन ।

भारतले नेपाललाई तीनतिरबाट घेरेको छ । यसको बावजुद उत्तरमा विशाल शक्तिशाली राष्ट्र चीनको उपस्थितिका कारण नेपाल निल्ने भारतीय योजना आजसम्म सफल हुन सकेको छैन । तिब्बत स्वतन्त्र भएमा त्यो भारतको सहयोगबाट मात्र सम्भव हुनेछ । 'भारतको कठपुतली'को संज्ञा पाएका दलाइ लामाले तिब्बतको राज्यसत्ता सम्हालेको खण्डमा अप्रत्यक्ष ढंगले नेपाल चारैतिरबाट भारतद्वारा घेरिनेछ । यस्तो स्थिति नेपालको अस्तित्वका लागि नै घातक हुनेछ । मानवअधिकारको नाउँमा चीनलाई संघीयतामा धकेल्न अथवा तिब्बतमा चिनियाँ शासनलाई खुकुलो बनाउनसम्म पनि भारत तथा पश्चिमी राष्ट्र सफल भएमा चिनियाँ प्रभुत्वका आधारहरु तिब्बत, सिन्जियाङ, भित्रि मंगोलिया र माचुरियामा रक्तपात मच्चिनेछ । यस्तो स्थितिमा हानजातिबीचको एकताले मात्र चीनलाई अखण्ड राख्नसक्ने छैन । कमजोर चीन नेपालका लागि घातक हुन्छ । चीनमा छिङ राज्य कमजोर भएको समय पारेर अंग्रेजले सुगौली सन्धिमार्फत नेपालको एक तिहाइ भूभाग कुम्ल्याएको इतिहास हाम्रोसामु छर्लंग छ ।

आफ्नो लेखमा मधेसवादी दलका सभासद्हरुले धर्मशालामा दलाई लामासँग गरेको राजनीतिक भेटले चीनलाई भन्दा पनि बढी नेपालमा रहेका उसका भारतविरोधी मित्रहरुलाई क्रुद्ध बनाएको लिँडेढिपी रायले गरेका छन् । पाकिस्तानको सम्वेदनशील क्षेत्र बलुचिस्तानको जातीय विवादलाई पाकिस्तानको आन्तरिक मामिला सम्झनुलाई समेत राष्ट्रघाती कदम भएको आरोप भारतीयहरु लगाउँछन् । तर आफ्नो मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन दिनुहुन्न भन्ने सचेत नेपालीको भनाइ परिपक्क कुटनीतिक उद्घोष हो कि चीनको तावेदारी ? त्यसो भए अमेरिकासँग परमाणु सम्झौता गर्ने भारतको कदमलाई के भन्ने ? निर्वासित तिब्बतीहरुका लागि हिमाचलप्रदेशमा सहर बनाइदिने भारतको कदमलाई के भन्ने ? अमेरिका, जापान र अस्ट्रेलियासँग आफ्नै भूमिका संयुक्त अभ्यास गर्ने भारतीय कदम के हो ? त्यसो हो भने शीतयुद्धताका एसियामा सोभियतसंघको आधार निर्माण गर्न भारतले खेलेको भूमिकालाई पनि सोभियत संघप्रतिको भारतको गुलामी सम्झिनुपर्ने हुन्छ ।

हिन्दूहरुको बाहुल्य रहेको नेपालमा दलाइ लामा हिन्दूहरुको अवतारीका रुपमा सर्वत्र पुजिन्छन् भन्ने रायको अर्को हास्यास्पद तर्क छ । तर यथार्थ के हो भने नेपालको सचेत वर्गमध्ये पनि थोरैमात्रले दलाइ लामालाई चिन्दछन् । धरातलीय यथार्थलाई ढाकछोप गरी नेपालमा भारतको प्रभुत्व कायम गर्न भाष्कर रायजस्ता विद्वान्ले गर्ने यस्तो विश्लेषण पढेर उनीहरु आफैमात्र मख्ख पर्लान् । उनीहरुको तर्कले उपाध्यायको विश्लेषणलाई कमजोर बनाउन र उनलाई चिनियाँ अथवा पाकिस्तानी एजेन्टको बिल्ला भिराउन सक्दैनन् । उपाध्यायको विश्लेषण नेपालको परराष्ट्रनीतिको ढुकढुकी हो ।

By Sujit Mainali
Kathmandu